काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी–२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार तय भोटेचौर स्पोर्टस क्लबसँगको पहिलो सेमिफाइनल वर्षाका कारण हुन नसके पनि समूह विजेता भएका आधारमा पाँचपोखरीले फाइनलमा स्थान बनायो।
पाँच पोखरी समूह ‘ए’ को विजेता तथा भोटेचौर समूह‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए।
यता निकै रोमाञ्चक दोस्रो सेमिफाइनलमा मेलम्चीले द माइटी साँगाचोक क्लबलाई सुपर ओभरमा पराजित गर्यो।
साँगाचोकले प्रस्तुत गरेको ८२ रनको लक्ष्य पछ्याएको मेलम्चीले निर्धारित १० ओभरमा पाँच विकेट गुमाउँदै ८१ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।
वर्षाका कारण खेललाई १० ओभरमा झारिएको थियो। मेलम्चीका लागि कप्तान रिन्जिङ लामाले ३३, उत्तम थापा मगरले १५ र सोनु देवकोटाले ११ रन बनाए।
सँगाचोकका लागि उद्धव तिमल्सिनाले दुई तथा प्रतिक श्रेष्ठ, समुन चौलागाईँ र मनिष पराजुलीले समान एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साँगाचोकले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८१ रनको योगफल तयार पारेको थियो।साँगाचोकका लागि आशोक पौडेल ३३, प्रतिश श्रेष्ठले २१ र कप्तान उमंग धितालले १० रन बनाए।
मेलम्चीका लागि सन्दीपकुमार शाहले दुई तथा सोनु देवकोटा, निशान भारती, राकेश श्रेष्ठ र रिन्जिङ लामाले समान एक विकेट लिए।
मेलम्ची समूह ‘बी’ को विजेता र साँगाचोक समूह ‘ए’ को उपाविजेताका रूपमा अन्तिम चारमा पुगेका थिए।
पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको फाइनल सोमबार हुनेछ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।