काठमाडौं। साफ महिला यु–२० च्याम्पियनसिपको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन्।
यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले खेलाडीको संख्या घटाएर ३० मा सीमित गरेका हुन्। अमिता भुल, अवानी राजेश्वरी, गायत्री मल्ल, मरिना लामा, प्रतीमा शर्मा, रोजिता विष्ट,सविता मण्डल, संगीता अधिकार, सुनिता बिके, सुनिता सुनार बाहिरिएका हुन्।
गुरुङले यसअघि ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। अहिले छनोट गरिएका ३० खेलाडी साफ च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा सहभागी हुनेछन्।
प्रतियोगिता आगामी जुलाई ११ देखि २२ सम्म बंगलादेशमा आयोजना हुँदैछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले गत बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो प्रतिद्वन्द्वी भुटान पाएको छ। नेपाल र भुटानबीचको खेल ११ जुलाईमा हुनेछ।

नेपालले १३ जुलाईमा घरेलु टोलीसँग खेल्नेछ। यस्तै, १७ जुलाईमा श्रीलंका र २१ जुलाईमा पुन: बंगलादेशसँग खेल्नेछ। अंक तालिकामा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।
३० खेलाडी
अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, भवना परियार, बिर्सना चौधरी, गंगा रोकाया, झुमा विश्वकर्मा, जुना तामाङ, कविता गुरुङ, करुण बुढाथोकी, कुसुम खतिवडा, लिला चन्द, लिला जोशी, मनीषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, पुनम चेम्जोङ, सजिना स्याङ्तान, समीक्षा मगर, सानिमा माया लो, सरिता कुमारी नाथ, सेमिहाङ्मा लिम्बु पन्धाक, सेनु परियार, सिम्रन राई, सिता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया, सुशीला केसी र रुपा लिम्बू।