काठमाडौं। क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र इजिप्टको अल–अहलीबीचको रोमाञ्चक भिडन्त गोलरहित बराबरीमा टुंगियो।
अमेरिका स्थित हार्ड रक स्टेडियममा आइतबार बिहान भएको खेलमा मियामीका कपतान लिओनल मेसीले अतिरिक्त समयको ९६औं मिनेटमा दायाँ भागबाट गरेको लामो कर्लिङ प्रहारलाई इजिप्टका गोलकिपर मोहमद एलशेनावीले उत्कृष्ट डाइभिङ सेभ गरे।
उक्त बल क्रसबारमा ठोक्किएर बाहिर गएसँगै मियामी बराबरीमा रोकिएको हो। यसअघि दोस्रो हाफको ६०औं मिनेटमा मेसीको फ्रिकिक पनि पोस्टको छेउबाट बाहिरिएको थियो।
दर्शकहरूले भरिएको ६०,००० क्षमताको रंगशालामा मेसीको दुई सानदार प्रयास सफल हुन सकेन। तर, मियामी पनि पहिलो हाफमा अल अहलीको आक्रमणबाट जोगिएकोमा भाग्यमानी रह्यो।