काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डेसँग एक वर्षको सम्झौता गरेको छ। महिला राष्ट्रिय टोलीले औपचारिक रूपमा पाएको उनी पहिलो विदेशी प्रशिक्षक हुन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले उनलाई बिहीबार नियुक्ति पत्रप्रदान गरेका हुन्। प्रशिक्षक छनोट समितिले सर्टलिस्टमा रहेका दुईजनाबाट उनको नाम फाइनल गरेको हो। ‘उहाँसँग एक वर्षको सम्झौता गरिएको छ। बाँकी कुरा एन्फाले शुक्रबार प्रशिक्षकलाई सार्वजनिक गर्दै जानकारी दिन्छ,’ एन्फा प्रवक्ता सुरेश शाहले भने।
युइएफए प्रो–लाइसेन्स होल्डर प्याट्रिकले उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत लाओसविरुद्धको खेलमार्फत प्रशिक्षकको भूमिकामा नेपाली टोलीमा डेब्यु गर्नेछन्। यी दुईबीचको खेल २९ जुनमा हुनेछ। नेपाल र लाओस समूह ‘एफ’ मा परेका छन्। यो समूहमा उज्बेकिस्तान र श्रीलंका पनि छन्।
नेपाल फिफा वरीयतामा ९९औं स्थानमा छ। लाओस भने आठ स्थान तल अर्थात् १०७औं स्थानमा छ। नेपालले दोस्रो खेल श्रीलंका र अन्तिम खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउने छ।
६० वर्षीय प्याट्रिकले यसअघि नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा काठमाडौं रेजर्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। तर, उनको टोली लिग चरणमा पोखरा थन्डर्ससँग गोलअन्तरले पछि पर्दै प्लेअफमा पुग्न चुकेको थियो।
प्याट्रिकले पछिल्लोपल्ट सोमालिया राष्ट्रिय फुटबल टोली सम्हालेका थिए। उनीसँग रुवान्डाको टोली सम्हालेको अनुभव पनि छ। यस्तै, उनले चीनको यु–२३ टोली सम्हालुनका साथै अल्जेरिया र हंगेरीको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।