काठमाडौं। सायम कलेजको आयोजनामा हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता असार ११ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा २४ देखि ३२ छात्र टिमको सहभागिता अपेक्षा गरिएको सायमका प्रिन्सिपल अशोकराज पाण्डेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
स्नातक तह सेमेस्टर प्रणालीका कलेजले प्रतियोगितामा सहभागी हुने छन् । प्रतियोगिताको मुख्य प्रायोजकमा एसीको विक्रेता हाइसेन्स नेपाल रहेको छ ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ९० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ३–३ हजार नगद पुरस्कारसहित गिफ्ट भौचर प्राप्त गर्ने छन् । उत्कृष्ट प्रशिक्षकले ट्रफीसहित गिफ्ट भौचर पाउने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ५० हजार खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए ।
तीनदिने प्रतियोगिताका खेलहरु भक्तपुरको दिब्येश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसलमा लिग कम नकआउट आधारमा खेलाइने छ ।
सायम प्रिमियर लिग इन्ट्रा कलेज क्रिकेटको पाँचौं संस्करण सफलतापूर्वक आयोजना गरिसकेको सायमले पहिलोपटक फुटसल आयोजना गर्न लागेको प्रतियोगिता संयोजक दशरथ शाहीले बताए ।
उनले आगामी दिनमा महिलाको फुटसल पनि आयोजना गर्ने सोच रहेको बताए ।