काठमाडौं। बंगलादेशका स्टार मिडफिल्डर हम्जा चौधरीले गोल गर्दै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशलाई सहज जित दिलाएका छन्।
बुधबार ढाकास्थित नेसनल स्टेडियममा भएको खेलमा भुटानलाई बंगलादेशले २–० ले पराजित गरेको हो। खेलको छैटौं मिनेटमा कप्तान जमाल भुइयाँले कर्नरबाट दिएको उत्कृष्ट क्रसमा हम्जाले सानदार हेडरमार्फत घरेलु टोलीलाई अग्रता दिलाए। घरेलु मैदानमा उनको यो डेब्यु खेल हो।
दोस्रो हाफको ४९औं मिनेटमा मिडफिल्डर सोहेल रानाले बक्स बाहिरबाट बाँया खुट्टाले दोस्रो गोल गरे। योसँगै बंगलादेशको जित सुनिश्चित भयो।
अब बंगलादेशले जुन १० मा ढाकामै एसियन कप छनोटअन्तर्गत सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्नेछ।