अञ्जनलाई कीर्तिमानी गोलको दबाब

काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट अहिले एकदमै महत्त्वपूर्ण मोडमा छन्। बिहीबार बलियो प्रतिद्वन्द्वी हङकङविरुद्धको खेलमा उनलाई धेरै दबाब र अपेक्षा छ। त्यो भनेको गोलको खडेरी तोड्नु र एउटा लामो समयदेखि कायम रहेको कीर्तिमानलाई भंग गर्नु नै हो।
अञ्जनले १२ अक्टोबर २०२३ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको फिफा विश्वकप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा गोल गर्दै नेपाली फुटबलका दुई दिग्गज हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गरेका थिए।
हरिले यो कीर्तिमान राखेपछि नीराजनले २००८ मा यसलाई बराबरी गरेका थिए। १५ वर्षपछि त्यो कीर्तिमान अञ्जनले पुनः भेटेका हुन्। उत्कृष्ट लयमा रहेका अञ्जनले छिट्टै नै उक्त कीर्तिमान तोड्ने अपेक्षा गरिएको थियो। तर, उक्त कीर्तिमान बराबरी गरेको ६०२ दिन भइसक्दा पनि उनी अझै गोलविहीन छन्।

पछिल्लो पुस्ताका ‘गोल मेसिन’ मानिएका उनी पछिल्ला ११ खेलमा लगभग नियमित सुरुआती ११ मा मैदान उत्रिएका छन्। तर, कीर्तिमान भंग गर्ने दबाबमा रहेका उनी पछिल्लो समय गोल गर्न संघर्ष गरिरहेका छन्। त्यसैले उनलाई अब गोल गर्नु नै चुनौतीपूर्ण बन्दै गएको छ।
अञ्जन आफैंले पनि यसलाई स्विकार्छन्। भन्छन्, ‘फुटबल खेलाडीको करियर सधैं एउटै हुँदैन। मेरो जीवनमा धेरै हार्ड टाइम्स आयो। चोटपटकदेखि थुप्रै समस्याले घेरिएँ। तर, मैले कहिल्यै हार मानिनँ। म हरेक दिन आफूलाई अझ राम्रो बनाउन प्रयास गरिरहेको छु।’
अञ्जन नचल्दा सबैभन्दा धेरै फाइदा जेलेस्पीजंग कार्कीले लिएका छन्। उनले यमन, अफगानिस्तान र सिंगापुरविरुद्ध समान एक गोल गर्दै राष्ट्रिय टोलीलाई सम्हालिरहेका छन्। मनीष डाँगी, सञ्जीव विष्ट र रोहित चन्दले पनि समान एक गोलको योगदान दिएका छन्। यसबारे अञ्जन भन्छन्,‘मेजर इन्जुरीबाट फर्कनु सजिलो छैन। फर्किँदा खेल्ने शैली पनि पहिलेजस्तो हुँदैन। अहिले प्रतियोगितामा प्रतिस्पर्धा बढेको छ। अरू पनि राम्रो खेलाडी छन्। त्यसैले अझ राम्रो हुन समय लाग्छ। तर, राम्रो समय आउँदैछ भन्नेमा म विश्वस्त छु।’

सन् २०१४ मा फिलिपिन्सविरुद्ध सन्दीप राईको स्थानमा मैदान प्रवेश गर्दै अञ्जनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। तर, उनलाई पहिलो गोल गर्न भने करिब ५ वर्ष लाग्यो। कतार विश्वकप २०२२ छनोटअन्तर्गत चाइनिज ताइपेईविरुद्ध भएको खेलमा उनले गोलको खाता खोलेका हुन्। त्यो खेल उनका लागि भव्य बन्यो।
उनले तेस्रो र ६३औं मिनेटमा गोल गर्दै नेपाललाई २–० को सानदार जित दिलाएका थिए। अञ्जनले त्यसपछि २०२१ मा इराकविरुद्ध तेस्रो गोल गरेका हुन्। उनले त्यसको साढे दुई वर्षमा चाइनिज ताइपेई, इराक, कुवेत, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानविरुद्ध १० गोल गर्दै उत्कृष्ट लय देखाएका थिए।
त्यसयता उनीले पहिलाजस्तो लय कायम राख्न सकेका छैनन्। तर, अञ्जन बल्ल २७ वर्ष पुगेका छन्। त्यसैले यो कीर्तिमान भंग गर्न आफूसँग अझै धेरै समय रहेको उनी जिकिर गर्छन्। भन्छन्, ‘खेलाडीले कहिल्यै हार मान्नु हुँदैन। म अझै युवा अवस्थामा छु र धेरै खेल्न बाँकी छ। म गोलको खोजीमा छु र मेरो लक्ष्य अझ धेरै गोल गर्नु हो।’






-1771592656087.jpeg&w=3840&q=75)




-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)

