काठमाडौं। नेपाली राष्ट्रिय टोलीका अलराउन्डर गणेश पार्कीले भारतीय प्रो–कबड्डी लिग खेल्ने भएका छन्।
उनलाई तेलगु टाइटन्सले लिगको १२औं संस्करणका लागि अनुबन्ध गरेको हो। योसँगै यसपल्टको लिगमा दुई नेपाली खेलाडी देखिने भएका छन्।
यसअघि कप्तान घनश्याम रोका मगरलाई हरियाणा स्टिलर्सले रिटेन गरेको थियोे। उनले अघिल्ला दुई संस्करण पनि हरियाणाबाटै लिग खेलेका थिए। हरियाणाले गत संस्करणमा उनलाई अक्सनबाट १३ लाख भारतीय रूपैयाँमा अनुबन्धित गरेको थियो। यसपटक पनि उनलाई सोही रकममा भित्र्याएको हो।
गत संस्करणमा हरियाणाले फाइनलमा पटना पाइरेट्सलाई ३२–२३ ले पराजित गर्दै उपाधि जितेको थियो।
उनले उक्त संस्करण दुई खेल खेल्दै तीन अंक जोडेका थिए। तर, फाइनलमा भने उनले खेल्न पाएका थिएनन्। गणेशलाई पनि तेलगुले १३ लाख भारूमै भित्र्याएको हो।
अखिल नेपाल कबड्डी संघले यसपल्ट घनश्याम र गणेशसहित रेइडर सुशील चुनारा र अलराउन्डर रामु टमाटाको नाम पनि अक्सनमा पठाइएको थियोे। गत संस्करणको अक्सनमा पनि संघले घनश्याम, गणेश, रामु र लाल मोहरलाई सिफारिस गरेको थियो। तर, घनश्यामबाहेक अन्य कुनै खेलाडी बिक्री भएका थिएनन्।