ग्रिजम्यानलाई ३६ वर्षसम्म एट्लेटिकोमा रहने बाटो खुला

काठमाडौं। एट्लेटिको मड्रिडले फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजम्यानलाई ३६ वर्षसम्म रहने बाटो खुला गरिदिएको छ। क्लबले उनीसँग दुई वर्षको सम्झौता थप गरेको हो।
उनको अघिल्लो सम्झौता एक वर्ष बाँकी रहेको थियो। उनले यो सिजन सबै प्रतियोगितामा गरी ५३ खेलमा १९ गोल गरेका थिए। एट्लेटिकोले ला लिगामा तेस्रो स्थान हासिल गर्दै कोपा डेल रे को सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।
३४ वर्षीय ग्रिजम्यान एट्लेटिकोको इतिहासमै सर्वाधिक गोलकर्ता हुन्। उनले क्लबका लागि हालसम्म १९७ गोल गरेका छन्।
‘यो अद्भुत जर्सी अझ धेरै वर्षसम्म लगाउन पाउँदा धेरै खुसी छु,’ उनले इन्स्टाग्राममा लेखेका छन्,‘म तपाईंहरूलाई धेरै खुसी दिने आशा गर्छु।’
मेजर लिग सकर (एमएलएस) जाने चर्चा चलिरहेको बेला एट्लेटिकोले उनीसँग सम्झौता थप गरेको हो। एट्लेटिको अब अमेरिकामा हुने क्लब विश्वकपको तयारीमा छ।
क्लब विश्वकपमा एट्लेटिकोले जुन १५ मा च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँग क्यालिफोर्नियामा समूह चरणको खेल खेल्नेछ। त्यसपछि सिएटल साउन्डर्स र ब्राजिलको बोटाफोगोविरुद्ध पनि प्रतिस्पर्धा गर्नेछन्।











%20(1)-1777447778534.jpeg&w=3840&q=75)

