काठमाडौं। विभागीय टोली एपिएफ फुटबल क्लबकी डिफेन्डर मनमाया दमाईले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेकी छन्।
पथुम थानीस्थित थम्मासत रंगशालामा सोमबार सम्पन्न घरेलु टोली थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलमा खेलमा उनले डेब्यु गरेकी हुन्। उक्त खेलमा नेपाल २–० ले पराजित भएको थियो।
उनी दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मैदान प्रवेश गरेकी हुन्। उनले डिफेन्डर विमला विकलाई प्रतिस्थापन गरेकी थिइन्।
यसअघि शुक्रबार ‘क्लोज डोर’मा भएको अभ्यास खेलमा पनि नेपाल १–० ले पराजित भएको थियो।
नेपालले दुवै गोल कमजोर डिफेन्स लाइनका कारण खान पुग्यो। पहिलो हाफमा थाइल्यान्डलाई गोलरहित बराबरीमा रोक्न नेपाल सफल भएको थियो। तर, ५९औं मिनेटमा सिधै प्रहार भएको फ्रिकिक कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले रोक्न नसक्दा नेपाल खेलमा १–० ले पछि पर्यो।
बल रोक्नेक्रममा नेपाली डिफेन्डर पूजा रानाले विपक्षी खेलाडीलाई फउल गरेकी थिइन्। प्राप्त फ्रिकिकलाई चात्चावान रोडथोङले करिब ३५ यार्डबाट सिधै जाली चुमाइन्।
७४औं मिनेटमा नेपालले दोस्रो गोल खायो। सिक्स यार्ड बक्सनजिकबाट कप्तान जिरापुरन मोङकोल्डीले गोल गर्दै अग्रता दोब्बर बनाइन्।
लामो क्रसमार्फत आएको बललाई डिक्सनजिकबाट पिचायतिदा मानोवाङ्गले जिरापुरानलाई दिएकी थिइन्। उक्त एअर बललाई जिरापुरानले सुन्दर तरिकाले फिनिसिङ गरिन्। अनमार्क रहेकी जिरापुरानले प्रहार गरेको उक्त बललाई रोक्न गोलकिपर अञ्जिलाले कुनै प्रतिकृया दिन चाहिनन्।
नेपालले यही जुन २९ देखि उज्वेकिस्तानमा महिला एसियन कप छनोट खेल्दैछ। सोही प्रतियोगिताको तयारीस्वरूप नेपालले थाइल्यान्डसँग एक मैत्रीपूर्ण र एक अभ्यास खेल खेलेको हो।
एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘एफ’मा छ। यो समूहमा नेपाल र आयोजक राष्ट्र उज्वेकिस्तानसँगै लाओस र श्रीलंका पनि छन्।