काठमाडौं। नेपालले मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डसँग दोस्रो गोल खाएको छ।
नेपालले पहिलो हाफमा थाइल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, ५९औं मिनेटमा सिधै प्रहार भएको फ्रिकिक कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले रोक्न नसक्दा नेपाल खेलमा १–० ले पछि परेको हो।
बल रोक्नेक्रममा नेपाली डिफेन्डर पूजा रानाले विपक्षी खेलाडीलाई फउल गरेकी थिइन्। प्राप्त फ्रिकिकलाई चात्चावान रोडथोङले करिब ३५ यार्डबाट सिधै जाली चुमाइन्।
७४औं मिनेटमा नेपालले दोस्रो गोल खायो। सिक्स यार्ड बक्सनजिकबाट कप्तान जिरापुरन मोङकोल्डीले गोल गर्दै अग्रता दोब्बर बनाइन्।
लामो क्रसमार्फत आएको बललाई डिक्सनजिकबाट पिचायतिदा मानोवाङ्गले जिरापुरानलाई दिएकी थिइन्। उक्त एअर बललाई जिरापुरानले सुन्दर तरिकाले फिनिसिङ गरिन्। उक्त बललाई रोक्न गोलकिपर अञ्जिलाले कुनै प्रतिकृया दिन चाहिनन्।