काठमाडौं। थाइल्यान्डको चर्को घाम, अनुभवी विपक्षी र थकित शरीर। यिनैबीच नेपाली महिला फुटबल टोलीले २०२६ एएफसी महिला एसियन कपको छनोटअघि सबैभन्दा कठिन मनोवैज्ञानिक परीक्षा दिँदै छ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भनेझैँ सबै खेलाडी थाकिसकेका छन्। तर, फुटबलमा कहिलेकाहीँ थकान नै आत्मविश्वासको बुई बन्न सक्छ।
पछिल्ला दुई महिनामा नेपाली महिला टोलीका अधिकांश खेलाडीहरूले पाँचवटा मोफसल प्रतियोगिता खेलेका छन्। निरन्तर भइरहेको प्रतियोगिताका कारण खेलाडीले पर्याप्त आराम गर्ने मौका पाएका छैनन्।
शारीरिक रूपमा थकाउने मात्र होइन, मनोवैज्ञानिक रूपमा पनि कमजोर महसुस भइरहेको बेला अखिल नेपाल फुटबल संघ (एन्फा)ले थाइल्यान्ड भ्रमण तय गरेको थियो। तर यो थकानभित्र पनि एक किसिमको लय छ– खेलमै निरन्तर।
‘मैले चाहेजस्तो तयारी हुन सकेको छैन,’ प्रशिक्षक तामाङले थाइल्यान्ड जानुअघि खेलपाटीसँग भने, ‘तर थाइल्यान्डसँग खेल्दा अनुभव, आत्मबल र रणनीति सुधार्न मौका पाइन्छ।’ र त्यसैले उनी यो खेललाई अवसर भन्न रुचाउँछन्।
थाइल्यान्ड दुई पटक फिफा विश्वकप खेलिसकेको टोली हो। हाल विश्व वरीयतामा ४७औं स्थानमा रहेको यो टोली कुनै पनि हिसाबले नेपालका लागि मैत्रीपूर्ण प्रतिद्वन्द्वी होइन।
अनुभव, लगनाी र संरचना– तीनै पक्षमा नेपालभन्दा थाइल्यान्ड एक कदम अगाडि छ। तर, नेपालका लागि यिनै कुराहरू नाप्ने माध्यम पनि हुन्।
‘हामीले राम्रो पर्फमेन्स दियौं भने त्यो आत्मबल एसियन कप छनोटमा काम लाग्नेछ,’ प्रशिक्षक तामाङले भनेका छन्। नेपालले शुक्रबार मात्रै यही टोलीसँग ‘क्लोज डोर’मा अभ्यास खेल खेलेको थियो।
पहिलो हाफमा नेपालले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, दोस्रो हाफमा भने सम्हालिन सकेन र १–० को हार बेहोर्न बाध्य भयो।
वरीयताको हिसाबले हेर्ने हो भने यो कुनै ठूलो हार होइन। यो स्कोरसँगै सोमबार अपरान्ह्र ४:४५ बजे हुने खेलमा थाइल्यान्डमाथि जित या बराबरीको नतिजा हासिल गर्न सक्छ भन्ने सन्देश नेपाली टोलीले दिएको छ।