काठमाडौं। इटलीका मुख्य प्रशिक्षक लुसियानो स्पालेट्टीले आगामी शुक्रबार नर्वेविरुद्ध हुने खेललाई २०२६ विश्वकप छनोटको निर्णायक मोडको रूपमा चित्रण गरेका छन्। उनले यो खेलका लागि आफ्नो टोली पूर्ण रूपमा तयार रहेको बताएका छन्।
स्पालेट्टीको टोलीले छनोटको समूह ‘आई’ अन्तर्गत ओस्लोमा नर्वेविरुद्धको खेलमार्फत आफ्नो यात्रा सुरु गर्दैछ। नर्वेले यसअघि खेलेका दुई खेलमा ६ अंक जोडिसकेको छ र ९ गोल गरिसकेको छ।
चारपटकको विश्वकप विजेता इटलीले सन् २०१४ पछि विश्वकपमा स्थान बनाउन सकेको छैन। मार्च महिनामा नेसन्स लिग क्वार्टरफाइनल खेलेकाले इटाली अब विश्वकप छनोटमा मात्रै केन्द्रित हुनेछ। जर्मनीसँग पराजित हुँदै इटाली प्रतियोगिताबाट बाहिरिएको थियो।
स्पालेट्टीले भने,‘नर्वेमै हाम्रो विश्वकप यात्राको भविष्य तय हुनेछ। दिइएको जिम्मेवारी पूरा गर्नु हाम्रो कर्तव्य हो। हामी छनोट हुनैपर्छ, किनकि यो हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण छ।’
नर्वेका प्रशिक्षक स्टाले सोलबाखेन पनि आत्मविश्वासी देखिए। ‘म पक्का भन्न सक्दिन कि इटली नै फेभरिट हो। मलाई लाग्छ यो खेल बराबरीको हो, ५०–५०। विशेष गरी हाम्रो घरेलु मैदानमा,’ उनले पत्रकारहरूसँग भने।
२०२६ को फिफा विश्वकप क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा ११ जुनदेखि १९ जुलाईसम्म आयोजना हुनेछ।