काठमाडौं। इन्टर मिलानका डिफेन्डर यान ओरल बिसेकले युइएफए नेसन्स लिग गुमाउने भएका छन्। पेरिस सेन्ट–जर्मेनसँगको च्याम्पियन्स लिग फाइनलमा चोट बोकेपछि उनलाई जर्मनीको टिमबाट हटाइएको हो।
शनिबार भएको फाइनलमा बिसेक ५४औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए। तर, ६२औं मिनेटमै दाहिने खुट्टाको पछाडिको भागमा देखिएको मांसपेशी समस्याका कारण मैदान छाड्नुपर्यो।
जर्मन फुटबल महासंघले आइतबार पुष्टि गर्दै उनले म्युनिखमा बुधबार हुने पोर्चुगलविरुद्धको ने;न्स लिग सेमिफाइनल र त्यसपछिको स्पेन वा फ्रान्ससँगको फाइनल वा तेस्रो स्थानको खेल गुमाउने जनाएको छ।
बिसेकको स्थानमा प्रशिक्षक जुलियन नागेल्समानले मोनाकोका डिफेन्डर थिलो केहरेरलाई टोलिमा बोलाएका छन्। २८ वर्षे केहरेरले हालसम्म २७ खेलमा जर्मनीको प्रतिनिधित्व गरिसकेका छन्। तर, जुन २०२३ यता उनले राष्ट्रिय टिममा खेलेका छैनन्। उनी सोमबार टिमसँग जोडिनेछन्।
त्यसैगरी, माइन्जका फरवार्ड जोनाथन बुर्कार्ट पनि आइतबार चोटका कारण टिमबाट बाहिरिएका छन्। प्रशिक्षणका क्रममा उनको खुट्टाको एडीमा गहिरो चिरा परेको थियो, जसका लागि टाँका लगाउनु परेको छ।