काठमाडौं। इटालीका सेन्टर ब्याक फ्रान्चेस्को अचेर्बीले राष्ट्रिय टोलीको जर्सी लगाउन अस्वीकार गरेका छन्।
नर्वेविरुद्धको महत्त्वपूर्ण विश्वकप छनोट खेलमा टोलीले उनलाई बोलाएका थिए। उनी नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डलाई रोक्न तयारी अवस्थामा थिए।
इटालीका प्रशिक्षक लुसियानो स्पालेटीले आइतबार जानकारी दिँदै भने,‘च्याम्पियन्स लिग फाइनल खेलेपछि (जहाँ पेरिस सेन्ट–जर्मेनले इन्टर मिलानलाई ५–० ले हरायो) अचेर्बीले मलाई सन्देश पठाएर टोलीमा समावेश नहुने बताएका थिए।’
उनले थपे,‘यस्ता अन्य खेलाडी पनि छन्, जो यहाँ हुने योग्य छन्।’ अचेर्बीले इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै लेखे,‘जहाँ म साँच्चिकै चाहिएको छैन, त्यहाँ म बस्न चाहन्न। स्पष्ट रूपमा मलाई प्रशिक्षकको योजना र प्राथमिकतामा राखिएको छैन।’
इटालीले अब आउँदो शुक्रबार नर्वेमा खेल्नेछ। त्यसको तीन दिनपछि घरेलु मैदानमा मोल्डोवालाई स्वागत गर्नेछ। इटाली पछिल्ला दुई संस्करणको फिफा विश्वकपमा छनोट हुन असफल भएको थियो।