दिवंगत छोरी साना सम्झिएर भावुक बने एनरिके

काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पिएसजी) का प्रशिक्षक लुइस एनरिके च्याम्पियन्स लिग जितेपछि भावुक देखिए। कारण थियो– पिएसजीका समर्थकहरूले उनको दिवंगत छोरी साना एनरिकेलाई च्याम्पियन्स लिग फाइनलको विजय उत्सवमा ‘ट्रिब्युट' दिएका थिए।
सन् २०१९ मा दुर्लभ हड्डीको क्यान्सरका कारण नौ वर्षीया सानाको निधन भएको थियो। उनले आफ्नो बुबा एनरिकेसँगै सन् २०१५ मा बार्सिलोनाले च्याम्पियन्स लिग जित्दा बर्लिनको मैदानमा ठूलो झन्डा बोकेर खुसी साटेकी थिइन्।
यसपटक म्युनिखमा भएको फाइनल खेलअघि एनरिकेले उपाधि जितेपछि सानाको सम्झनामा पिएसजीको झन्डा मैदानमा गाड्ने योजना सुनाएका थिए। इन्टर मिलानलाई ५–० ले पराजित गरेर ऐतिहासिक जित दर्ता गरेपछि उनको यो योजना समर्थकहरूले नै यथार्थमा परिणत गर्दिए।
एनरिकेले भावुक हुँदै भने,‘म धेरै खुसी छु। खेलको अन्त्यमा समर्थकहरूले मेरो परिवारका लागि देखाएको ब्यानर निकै भावुक थियो। तर, म सधैं मेरी छोरीलाई सम्झिरहेको हुन्छु।’
यस उपाधिले धेरै अर्थ राख्छ। उनी दुई फरक क्लबबाट युइएफए च्याम्पियन्स लिग जित्ने सातौं प्रशिक्षक बनेका छन्। उनी कार्लो एन्सेलेटी, पेप ग्वार्डिओला र जोसे मोरिन्होजस्ता सफल प्रशिक्षकहरूको पंक्तिमा पुगेका छन्।
एनरिकेको नेतृत्वमा पिएसजीले यस सिजन लिग वान, फ्रेन्च कप र च्याम्पियन्स लिग जित्दै पहिलो पटक ‘ट्रेबल’ जित्न सफल भएको हो। यसरी उनले १० वर्षअघि बार्सिलोनासँग गरेको उपलब्धि दोहोर्याएका छन्।
तर, उनी भन्छन्, ‘मेरी छोरी सम्झन मलाई च्याम्पियन्स लिग जित्नैपर्ने थिएन । मेरी छोरी सधैं हामीसँग रहन्छिन्– विशेषगरी जब हामी हार्दछौं।
पिएसजीले इतिहासमै पहिलो पटक च्याम्पियन्स लिग जित्नु एक अद्वितीय उपलब्धि हो। ‘हामीले उत्कृष्ट तयारी गर्यौं। टोलीको प्रेसिङ, रणनीति, खेलाडीहरूको समर्पण सबै अद्वितीय थियो। हामीले सुरुदेखि नै ठूला उपाधि जित्न चाहेका थियौं। आज त्यो सपना पूरा भयो,’ उनले भने।












