मेसीले लयमा फर्काएको मियामी

काठमाडौं। एक साता अघिसम्म संकटमा रहेको इन्टर मियामीलाई लिओनल मेसीले पुरानै लयमा फर्काएका छन्।
आइतबार बिहान भएको मेजर लिग सकर (एमएलएस) को खेलमा मेसीले दुई गोल गर्दै कोलम्बस क्रूविरुद्ध इन्टर मियामीलाई ५-१ को सानदार जित दिलाए। यो जितसँगै मियामीले लगातार दोस्रो जित हासिल गरेको छ।
मेसीले खेलका सबै पाँच गोलमा कुनै न कुनै रूपमा भूमिका निभाए। उनले १३औं मिनेटमा टाडेओ आलेन्देको गोलमा असिस्ट गरे। त्यसपछि १५औं र २४औं मिनेटमा स्वयं गोल गरे। ६४औं मिनेटमा लुइस सुआरेजको गोलमा पनि उनी संलग्न थिए। अन्तिमतिर ८९औं मिनेटमा फाफा पिकौल्टलाई गोलका लागि पास दिए।
लगातार दुई खेलमा मेसीले दुई गोल र एक असिस्ट गरेका छन्। यस सिजनमा उनका १० गोल भइसकेका छन्, जुन मियामीका लागि सर्वाधिक हो।
इन्टर मियामीका प्रशिक्षक जाभियर माचेरेनोले मेस्सीको प्रदर्शनको प्रशंसा गर्दै भने, ‘उनी संसारकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन्। उनको प्रदर्शन साधारण हुन्छ, त्यसको अर्थ हामीमध्ये कसैले आफ्नो जिम्मेवारी पूरा गर्न सकेका छैनौं।’
अब मियामीले जुन १४ मा इजिप्टको अल आहलीसँग क्लब विश्वकप खेल्नेछ। त्यसअघि मेसी अर्जेन्टिना राष्ट्रिय टोलीमा फर्किँदैछन्, जहाँ उनी जुन ५ मा चिली र जुन १० मा कोलम्बियाविरुद्ध विश्वकप छनोट खेल्नेछन्।












%20(1)-1777447778534.jpeg&w=3840&q=75)
