काठमाडौं। लुइस एनरिकेले सन् २०१५ मा बार्सिलोनासँग च्याम्पियन्स लिग जितेका थिए। त्यसको करिब एक दशकपछि उनले पेरिस सेन्ट–जर्मेन (पिएसजी) मा पनि त्यही सफलता दोहोर्याएका छन्।
यससँगै उनी दुई फरक क्लबबाट युइएफए च्याम्पियन्स लिग जित्ने सातौं प्रशिक्षक बनेका छन्। उनी कार्लो एन्सेलेटी, पेप ग्वार्डिओला र जोसे मोरिन्होजस्ता सफल प्रशिक्षकहरूको पंक्तिमा पुगेका छन्।
एनरिकेको नेतृत्वमा पिएसजीले यस सिजन लिग वान, फ्रेन्च कप र च्याम्पियन्स लिग जित्दै पहिलो पटक ‘ट्रेबल’ जित्न सफल भएको हो। यसरी उनले १० वर्षअघि बार्सिलोनासँग गरेको उपलब्धि दोहोर्याएका छन्।
फाइनलपछि उनले भने,‘हामी महत्त्वाकांक्षी छौं। हामी विश्व फुटबलमा जित्न अझै अघि बढ्नेछौं।’
इन्टर मिलानले एक महिना अघिसम्म ट्रेबल जित्ने लक्ष्य बोकेको थियो। तर, अन्ततः कुनै उपाधि नै नजिति सिजन टुंग्याउनु परेको छ। फाइनल खेलको अन्त्यमा रेफ्रीले थप समय नदिई सिधै ९० मिनेटमै खेल सकाए। यो इन्टरका लागि थोरै मात्र भए पनि राहतको क्षण थियो।
इन्टरका प्रशिक्षक सिमोने इनजागीले भन्छन्,‘हामी अत्यन्त निराश छौं। हारहरूले कहिलेकाहीँ बलियो बनाउँछन्, तर यो हार इस्तानबुलको जति नै पीडादायी छ।’
१४ वर्षको योजना
कतार स्पोर्ट्स इन्भेस्टमेन्टले सन् २०११ मा पिएसजी किनेको थियो। त्यसयता क्लबले अत्याधिक खर्च गरेर ठूला नामका खेलाडी भित्र्याउँदै च्याम्पियन्स लिग जित्ने लक्ष्य राखेको थियो।
जाल्टान इब्राहिमोभिच, डेभिड बेकम, एडिन्सन काभानी र पछि नेयमार जुनियर, किलियन एमबाप्पे र लिओनल मेसी जस्ता सुपरस्टारहरूले विश्वकै सबैभन्दा महँगो आक्रमण लाइन तयार गरे। तर, सफलता भने पर्खाइमै रह्यो।
गत दुई वर्षमा नेयमार, मेसी र एमबाप्पे क्लब छाडेपछि पिसजीले व्यक्तिगत स्टारमा होइन, सामूहिक ‘टिमवर्क’मा भर दिने रणनीति अपनायो। यो रणनीतिले अहिले फल दिन थालेको छ।
यद्यपि, अहिलेको सफलतालाई ‘पिएसजीले अब ग्यालाक्टिको रणनीति त्यागेर टिम बनाउने उपाय रोजेको छ’ भन्ने कथाको रूपमा प्रचार गर्न सकिन्छ। तर, साँचो त्यति सरल छैन।
हालको टिममा ठूला नामका खेलाडी नभए पनि यो ‘स्क्वाड’ अझै पनि विश्वकै सबैभन्दा महँगोमध्ये एक हो। कतारको लगानीबिना यो सफलताको कल्पना गर्न सकिँदैन।