काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पिएसजी) अन्ततः युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि– युइएफए च्याम्पियन्स लिग जित्न सफल भएको छ।
कतारी पुँजीमा रूपान्तरण भएको १४ वर्षपछि र विश्वका चर्चित खेलाडीहरू खरिद गर्ने दौडपछि क्लबले इन्टर मिलानलाई ५–० ले पराजित गर्दै इतिहास रचेको हो
जर्मनीको म्युनिखस्थित एलियन्ज एरेनामा शनिबार भएको फाइनलमा पिएसजीले सानदार जित निकाल्दै च्याम्पियन्स लिगको ७० वर्षको इतिहासमै सबैभन्दा ठूलो गोल अन्तरको जित दर्ता गर्यो।
१९ वर्षीय फ्रेन्च फरवार्ड डेजिरे दोए खेलको मुख्य आकर्षण बने। उनले दुई गोल र एक गोलका लागि सहयोग गर्दै प्लेयर अफ द म्याच बन्न सफल भए। अर्का युवा खेलाडी सेनी मायुलुले पनि गोल गरे। योसँगै तीन दशकपछि च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने किशोर खेलाडीको सूचीमा यी दुई आफ्नो नाम थप्न सफल रहे।
‘यो जादूमय हो। हामी क्लब र फ्रेन्च फुटबलको इतिहास पुनः लेख्दैछौं,’ दोएले खेलपछि भने। अचरफ हाकिमी र ख्विचा ख्वारात्सखेलियाले पनि गोल गरे।
एनरिकेले दिलाए ट्रेबल
लुइस एनरिके पिएसजीका प्रशिक्षक बनेपछि ‘सुपरस्टार साइनिङ’को युगबाट ‘टिम बिल्डिङ’ केन्द्रित रणनीति ल्याएका थिए। उनले सन् २०१५ मा बार्सिलोनालाई च्याम्पियन्स लिग जिताएका थिए। योसँगै उनी दुई फरक क्लबलाई च्याम्पियन्स लिग जिताउने सातौं प्रशिक्षक बनेका छन्।
उनी भन्छन्,‘मैले पहिलो दिन नै भनेको थिएँ, हाम्रो अन्तिम लक्ष्य च्याम्पियन्स लिग जित्नु हो। आज त्यो बाकसमा टिक लगाइएको छ।’ यससँगै पिएसजीले लिग वान, फ्रेन्च कप र च्याम्पियन्स लिग जित्दै ‘ट्रेबल’ उपाधि जितेको छ।
‘ग्यालाक्टिको’ युगको अन्त्य
पछिल्ला केही वर्षमा नेयमार जुनियर, लिओनल मेसी र केलियन एमबाप्पे जस्ता स्टारहरू क्लबबाट बिदा भए। यी खेलाडी बाहिरिएसँगै पिएसजीले समूहगत प्रयासमा भर दिने नयाँ रणनीति अपनाएको थियो। यद्यपि, पिएसजी अझै पनि विश्वकै सबैभन्दा महँगो ‘स्क्वाड’ भएको टिममध्य एक हो।
एनरिकेको टोलीले खेलको १२औं मिनेटमा पहिलो गोल गर्यो। दोएले बल छाडेपछि हाकिमीले खुल्ला पोस्टमा गोल गरे। त्यसपछि दोएको प्रहार डिफेन्सबाट ‘डिफ्लेक्ट’ हुँदै दोस्रो गोल भयो। उनले तेस्रो गोल ६३औं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। त्यसपछि ख्वारात्सखेलिया र मायुलुले थप दुई गोल गरे।
पिएसजीको ‘क्राउनिङ मोमेन्ट’
एलियन्ज एरेना यही ठाउँ हो, जहाँ पिएसजी २०२० मा बायर्न म्युनिखसँग पराजित भएको थियो। शनियबार यो एरेना पिएजीको विजयको साक्षी बन्यो। हजारौं समर्थकको अगाडि कप्तान मार्किन्होसले ट्रफी उठाउँदा आकाशमा आतिशबाजी र सुनौलो ‘कन्फेटी’ पड्किएको दृश्य अविस्मरणीय बन्यो।
मार्किन्होसले भने,‘मैले सबै दिएको छु। यो क्षण हाम्रो हो।’ पिएसजीको यो जितसँगै राष्ट्र–प्रायोजित क्लब र ‘स्पोर्ट्सवाशिङ’बारे बहस फेरि चर्किएको छ। कतार स्पोर्ट्स इनभेस्टमेन्टको बृहत लगानीपछि प्राप्त यो सफलता अबुधाबीको म्यानचेस्टर सिटीले दुई वर्षअघि हासिल गरेको च्याम्पियन्स लिग उपाधिको जस्तै देखिन्छ।
साउदी अरेबियाको सम्पत्ति कोषको स्वामित्व रहेको न्यूक्यासल पनि आगामी सिजनमा च्याम्पियन्स लिगमा फर्किंदैछ, यस्तै लक्ष्यका साथ। अब पिएसजी साँच्चिकै युरोपेली फुटबलको राजपरिवारमा सामेल भएको छ। यो व्यापार मात्रै होइन, मैदानमा पाएको सफलताका आधार पनि लोभलाग्दो भएको छ।