काठमाडौं। हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बुधबार भएको खेलमा गोल्डेनगेटले टाइम्स क्लबलाई ७३–६४ ले पराजित गरेको छ। जारी लिगमा गोल्डेनगेटको यो लगातार छैटौं जित हो।
सात खेलमा ६ अल जितेको गोल्डेनगेटले हाउण्ड्स एकेडेमी समान १३ अंक जोडेको छ। हाउन्ड पहिलो र गोल्डेनगेट दोस्रो स्थानमा छ।
टाइम्सको भने यो तेस्रो हार हो। सात खेलमा चार जितबाट ११ अंक जोडेर टाइम्स तेस्रो स्थानमै छ।
वर्षाका कारण कीर्तिपुर कभर्डहलमा ढिला गरी सुरु भएको खेलको पहिलो क्वाटर गोल्डेनगेटले २०–१९ ले आफ्नो पक्षमा पार्दै झिनो अग्रता लिएको थियो। दोस्रो क्वाटरमा पनि २१–१२ को अग्रता बनाएपछि गोल्डेनगेटले हाफटाइमसम्म ४१–३१ को अग्रता बनायो।
तेस्रो क्वाटर टाइम्सले १४–१२ ले आफ्नो पक्षमा पारेपनि चौथो क्वाटरअघि गोल्डेनगेट नै ५३–४५ ले अघि थियो। चौथो तथा अन्तिम क्वाटर गोल्डेनगेटले २०–१९ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो।
गोल्डेनगेटको जितमा उत्कृष्ट प्रदर्शन गरेका अजय कुश्वाह मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। उनले १५ रिबाउन्डसहित १७ अंक स्कोर गरे।
गोल्डेनगेटका लागि अभिषेक सिंह र निकेश मगरले सर्वाधिक २०–२० अंक स्कोर गरेका थिए। यस्तै टाइम्सका लागि सदिश प्रधानले सर्वाधिक १५ अंक स्कोर गरे।