काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसर र अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०८२ को सम्मानमा नेपाल र चीनको सगरमाथा आरोहीबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको अवसरमा नेपाल र चीनका सगरमाथा आरोहीहरूबीच विशेष रूपमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपालको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा बुधबार एन्फा कम्प्लेक्समा उक्त खेल भएको हो । खेलमा सगरमाथा फ्रेन्डशिप टिम (नेपाल) र माउन्ट चोमोलोङ्मा फुटबल टिम (चीन) बीच प्रतिस्पर्धा भएको थियो । जसमा नेपालको सगरमाथा फ्रेन्डशिप टिम ४-१ ले विजयी भएको थियो ।
युनाइटेड बाई माउन्टेन, बोण्डेड थ्रु फुटबल भन्ने भावनाले जोडिएको नाराका साथ उक्त खेल आयोजना भएको थियो ।