काठमाडौं। बंगलादेशी महिला फुटबलमा एउटा युग समाप्त भयो। कम्तीमा प्रशिक्षक पिटर बटलरको नजरमा त त्यस्तै लाग्छ।
उनले आगामी जोर्डन भ्रमणका लागि आइतबार घोषणा गरिएको २३ सदस्यीय टोलीमा सर्वाधिक गोलकर्तासमेत रहेकी पूर्वकप्तान साबिना खातुन छैनन्। उनको साथमा चार अन्य साफ च्याम्पियन खेलाडीलाई पनि टोलीबाहिर राखिएको छ।
१५ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा ५६ खेल खेलेर ३६ गोल गरेकी साबिनालाई बाहिर राखिएको विषयमा सोधिएको प्रश्नमा प्रशिक्षक बटलरले भने,‘साबिनाको करियर अब समाप्त भइसकेको जस्तो मलाई लाग्छ। इमान्दार र व्यवहारिक रूपमा भन्नुपर्दा अब यो टोलीमा उनको खाँचो छजस्तो लाग्दैन। उनलाई बाहिर राखेर अब हामी अगाडि बढ्नुपर्छ।’
साबिना खातुनसँगै सन्जिदा अख्तर, मसुरा परविन, कृष्णा रानी सरकार र मात्शुसिमा सुमायालाई पनि टोलीबाहिर राखिएको छ। यी सबै खेलाडीले गत कार्तिकमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसिप जिताएका थिए।
यो बंगलादेशको लगातार दोस्रो साफ उपाधि थियो। हुन त यो प्रतियोगिताअघि नै प्रशिक्षक र सिनियर खेलाडीबीच मतभेद सतहमा आइसकेको थियो। अहिले त्यही विवादले उग्र रूप लिएको हो।
यो वर्ष जनवरी ३० मा १८ मा सिनियर खेलाडीले बटलरले राखेको बन्द प्रशिक्षण क्याम्प बहिष्कार गरेका थिए। त्यसपछि केही नयाँ खेलाडीलाई पुनः टोलीमा बोलाइएको थियो।
जोर्डन पुगेको टोलीमा युएई भ्रमणमा रहेका ११ र त्यही क्याम्पमा बोलाइएका नौ सिनियर खेलाडीलाई समावेश गरिएका छ। नयाँ अनुहारका रूपमा गोलकिपर फर्दौसी अक्तर, मिडफिल्डर शान्ति मरडी र फरवार्ड उमेला मर्मालाई टोलीमा छन्।
पत्रकार सम्मेलनमा प्रशिक्षक बटलरले सिनियर खेलाडीको बहिष्करबारे ‘रिफ्ट’ को कुरा गरेनन्। बरु उनले खेल कौशल, फिटनेस, मैदानमा दिनसक्ने समय, अनुशासन, व्यवहार र भविष्यलाई ध्यानमा राख्दै युवा खेलाडीलाई अवसर दिएको बताए।
यसबाहेक अपेक्षाकृत नयाँ खेलाडी अफेदा खान्डकरलाई कप्तानी जिम्मेवारी सुम्पिनुले पनि धेरैको ध्यान खिचेको छ। उनले युएई भ्रमणमा टोलीको कप्तानी गरेकी थिइन्।
टोलीमा उनीभन्दा सिनियर खेलाडी मोनिका चक्मा, रितुपोर्णा चक्मा र मारिया मन्डा हुन्। यी खेलाडी टोलीमा रहे पनि प्रशिक्षकले अफेदालाई कप्तानी जिम्मेवारी दिएका हुन्।
‘उनी राम्रो नेतृत्वकर्ता हुन्। उनी शब्दले भन्दा कामले नतिजा दिन्छिन्। अनुभवी होस् या सिकारु, व्यवहारले नेतृत्व गर्नुपर्छ। कप्तान छान्ने अधिकार मलाई नै किन नहोस्?’ बटलर भन्छन्।
बंगलादेश फुटबल महासंघ (बिएफएफ) महिला विभाग प्रमुख महफुजा अक्तर किरोनसँग सिनियर खेलाडीलाई बाहिर राखिएकोबारे कुनै स्पष्ट जवाफ छैन। उनले भनिन्,‘म व्यावसायिकता मान्छु। प्रशिक्षकसँग टोली छनोटबारे प्रश्न गर्नुको औचित्य देख्दिन।’
बंगलादेश टोली सोमबार नै जोर्डनतर्फ प्रस्थान गरिसकेको छ। मे ३१ मा ७४औं स्थानमा रहेको जोर्डनसँग खेल्नेछ। जुन ३ मा ९४औं स्थानमा रहेको इन्डोनेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। यी दुई खेल आगामी जुन–जुलाईमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीस्वरूप खेल्न लागिएको हो।