काठमाडौं। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पुरानै खेलाडीलाई निरन्तरता दिँदै थाइल्यान्डविरुद्ध हुने मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीको टोली घोषणा गरेका छन्। शुक्रबार उनले अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन्।
नेपालले बैंककमा दुई खेल खेल्ने तय छ। पहिलो खेल मे ३० तारिखमा बन्द रंगशालमा हुनेछ। यो खेललाई प्रशिक्षण खेलका रूपमा लिइएको छ। दोस्रो खेल जुन २ मा हुनेछ। यो खेलले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ।
तर, उनले यस खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने खेलपाटीलाई बताएका थिए। सोही अनुसार उनले गत फागुनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेलका अनुहारलाई नै दोहोर्याएका हुन्।
बन्द प्रशिक्षणमा रहेकी गोलकिप रलिला जोशीले अन्तिम टोलीमा स्थान बनाउन सकिनन्। यस्तै, डिफेन्डर प्रतीक्षा चौधरी र सविना चौधरी पनि बाहिरिए।
मिडफिल्डर हिमा राउत र तुलसा बोहराले राष्ट्रिय टोलीको ढोका खेल्न असफल भएका छन्। मीना देउवा, ममता पुन र पूर्णिमा राईजस्ता उदयीमान फरवार्डले पनि अनुभवी खेलाडीलाई प्रतिस्थापन गर्न सकेनन्।
थाइल्यान्डविरुद्धको खेललाई सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप छनोटको तयारीस्वरुप लिइएको छ।
नेपाल रहेको समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तान छन्। छनोट चरण मे ४ बाट सुरु हुनेछ।
नेपाली टोली
गोलकिपरः अञ्जिला तुम्बा पोसुब्बा, अञ्जना रानामगर, उषा नाथ
डिफेन्डरः गीता राना, निशा थोकर, अमृता जैसी, पूजा राना, विमला विक, मनमाया दमाई, समीक्षा घिमिरे
मिडफिल्डरः रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सरस्वती हमाल, विमला चौधरी, अनिता बस्नेत, सविता रानामगर, सुष्मा तामाङ
फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी