काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ ।
शनिबार कपिलबस्तुकाे ताैलिहवामा सम्पन्न प्रदेश संघको विशेष साधारण सभाले गुरुङविरुद्ध अविश्वासको प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।
संघको साधारण सभा सदस्यहरु ४१ मध्य उपस्थित ३८ जनाले अध्यक्ष गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मत हाले ।
''साधारण सभाले सर्वसम्मत रुपमा मतदानबाट अध्यक्षविरुद्धको अविश्वासको प्रस्तावलाई पारित गरेको छ ।'' एक प्रतिनिधिले खेलपाटीसँग भने ।
गुरुङ भने साधारण सभामा सहभागी थिएनन् । प्रदेश संघको कोषाध्यक्ष पद रिक्त छ भने कार्य समिति सदस्य सुबास तिमिल्सिना विदेशमा भएकाले तीन जना मतदानमा सहभागी भएनन् । अन्य ३८ जनाले गुरुङविरुद्ध मतदान गरेका थिए ।
गुरुङविरुद्ध ३१ जना सदस्यले हस्ताक्षर गर्दै अविश्वासको प्रस्ताव दर्ता गराएर साधारण सभा बैठक बोलाउन माग गरेका थिए ।
गुरुङले षड्यन्त्र गरेर आफुलाई पदच्युत गर्न खोजिएको भन्दै पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेलकुद परिषद्मा साधारण सभा रोक्न निवेदन दिएका थिए ।
राखेपले विनियमावली सम्बन्धि विवाद निरुपण नभएसम्म साधारण सभा स्थगित गर्न निर्देशन दिएको थियो ।
तर नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले क्यान विधान र प्रदेश संघको विनियमावली बमोजिम विशेष साधारण सभा सम्पन्न गर्न निर्देशन दिएका थिए । उता क्यान सचिव पारस खड्काले शुक्रबार राति प्रदेश संघलाई पत्र लेख्दै विशेष साधारण सभा रोक्न अनुरोध गरेका थिए ।