काठमाडौं। हाउन्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा लगातार तेस्रो जित हात पारेको छ।
कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउन्ड्सले सामाखुसी युथ क्लबलाई ९८-७२ ले पराजित गरेको हो। हाउन्ड्सले गत साता रोयल्स र टाइम्स बास्केटबल क्लबलाई पराजित गरेको थियो।
लगातार तेस्रो जितपछि हाउन्ड्स ९ अंक जोडेर शीर्ष स्थानमा छ। सामाखुसीको भने यो लगातार तेस्रो हार हो। अंकविहीन सामाखुसी पुछारमा छ। सामाखुसीविरुद्ध सुरुआतदेखि नै अग्रता लिएको हाउन्ड्सले चारै क्वाटर आफ्नो पक्षमा पारेको थियो।
हाउन्ड्सले पहिलो क्वाटरमा २६, दोस्रो क्वाटरमा २३ अंक जोडेको थियो। यस्तै, तेस्रोमा २४ र चौथो क्वाटरमा २५ अंक जोडेको थियो। सामाखुसीले चारै क्वाटरमा समान १८ अंक जोडेको थियो।
हाउन्ड्सका लागि विजय बुर्जाले सर्वाधिक २२ अंक स्कोर गरे। सामाखुसीका लागि विक्रम डंगोलले १५ अंक स्कोर गरे। खेलको मोस्ट भ्यालुएबल प्लेअर हाउण्ड्सका दीप्सन केसी घोषित भए।
एचजेबिएलमा बुधबार रोएल्स र टाइम्स बास्केटबल क्लब तथा गोल्डेनगेट बास्केटबल क्लब र कीर्तिपुर बास्केटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।