काठमाडौं। सन् २०३१ मा हुने महिला विश्वकप फुटबल प्रतियोगितामा ४८ राष्ट्रले सहभागिता जनाउने भएको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार उक्त घोषणा गरेको हो।
‘यो निर्णयले महिला फुटबलमा व्यापक प्रतिनिधित्व ल्याउनेछ। यसले धेरै देश र खेलाडीहरूलाई उच्च स्तरको प्रतिस्पर्धामा भाग लिन अवसर दिनेछ र विश्वव्यापी रूपमा महिला फुटबलमा लगानी बढाउनेछ,’ फिफाले भनेको छ।
सन् २०२७ को महिला विश्वकप ब्राजिलमा जुन २४ देखि जुलाई २५ सम्म आयोजना हुनेछ। यो विश्वकपमा ३२ राष्ट्र सहभागी हुनेछन्। तर, सन् २०३१ को विश्वकप आयोजक देश भने अझै घोषणा गरिएको छैन।
अमेरिका एक मात्र इच्छुक राष्ट्र हो। यो राष्ट्रले सन् २०२६ को पुरुष विश्वकप क्यानडा र मेक्सिकोसँग मिलेर आयोजन गर्दैछ।
फिफाका अनुसार, सन् २०२३ को महिला विश्वकपमा सबै महादेशका टोलीहरूले कम्तिमा एक खेल जितेका थिए र पाँच महादेशका टोलीहरू नकआउट चरणसम्म पुगेका थिए। यसले प्रतिस्पर्धात्मकताको नयाँ मापदण्ड स्थापना गर्यो। ‘हामीले यो गतिलाई कायम राख्दै महिला फुटबललाई विश्वव्यापी रूपमा अझ अगाडि बढाउने निर्णय गरेका हौं,’ फिफाले भनेको छ।
४८ टोली सहभागी हुने सन् २०३१ को महिला विश्वकप १२ समूहमा विभाजन हुनेछ। यसले कुल खेल संख्या ६४ बाट बढाएर १०४ पुर्याउनेछ र प्रतियोगिता एक हप्ता थप लम्ब्याइनेछ।
सन् २०२३ को महिला विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको थियो। उक्त विश्वकप स्पेनले जितेको थियो। त्यसअघि अमेरिकाले सन् १९९१, १९९९, २०१५ र २०१९ मा गरी चार पटक उपाधि जितिसकेको छ।