काठमाडौं। सन् २०२७ को महिला विश्वकप फुटबल ब्राजिलमा आयोजना हुने भएको छ। सो विश्वकपका लागि आठवटा सहरलाई आयोजकको रूपमा छनोट गरिएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बुधबार यी आयोजक सहरको नाम सार्वजनिक गरेको हो।
खेल सुरु हुने र फाइनल हुने स्टेडियम भने तोकिएको छैन। तर, उद्घाटन खेल साओ पाउलोमा र फाइनल ७८ हजार क्षमताको रियो दि जिनेरोस्थित म्याराकाना स्टेडियममा गरिने सम्भावना छ। जुन सन् २०१४ को पुरुष विश्वकपमा पनि फाइनलको स्थल थियो।
सन् २०१४ मा पुरुष विश्वकपका लागि प्रयोग गरिएका १२ स्टेडियममध्ये आठवटालाई पुनः महिला विश्वकपका लागि प्रयोग गरिनेछ। फिफाका अनुसार रियो दि जिनेरो (म्याराकाना स्टेडियम), साओ पाउलो (नियोक्विमिका एरेना), बेलो होरिजोन्ते (मिनेराओ स्टेडियम), ब्रासिलिया (नासियोनल स्टेडियम), फोर्टालेजा (एरेना कास्टेलाओ), पोर्टो एलेग्रे (बेइरा–रियो स्टेडियम), रेसिफे (एरेना पेर्नाम्बुको) र साल्भाडोर (एरेना फोन्ते नोभा) खेल खेलाइने छ।
ब्राजिलको फुटबल महासंघका केही सदस्यहरूले उद्घाटन खेल साओ पाउलोमा र फाइनल म्याराकानामा गर्न चाहेको बताएका छन्।
सन् २०१४ को पुरुष विश्वकपमा प्रयोग गरिएका अन्य तीन सहर कुरिचिबा, मेनाउस र नातालमा यसपटकको महिला विश्वकपका खेल आयोजना हुने छैन। बेलेम पनि आयोजक सहरमा परेको छैन।
आयोजक सहर छनोट प्रक्रिया सन् २०२३ को अगस्टबाट सुरु गरिएको थियो। अघिल्लो विश्वकपमा धेरैजसो टोली, प्रशिक्षक र समर्थकहरूले अत्यधिक फैलिएको भौगोलिक संरचनाप्रति आलोचना गरेका थिए।
यो प्रतियोगिता २०२७ जुन २४ देखि जुलाई २५ सम्म सञ्चालन हुनेछ। अधिकांश खेल तटीय सहरहरूमा हुनेछन्। यसबाहेक राजधानी ब्रासिलिया र बेलो होरिजोन्ते ब्राजिलका जनघनत्व धेरै भएका सहर हुन्।
ब्राजिल पहिलोपटक महिला विश्वकपको आयोजक बन्नेछ। पुरुषतर्फ पाँच पटक विश्वकप जितिसकेको ब्राजिलले महिलातर्फ भने अझै उपाधि जितेको छैन।