काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न सफल भएको छ। बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २–१ ले पराजित गर्दै पिएसजीले समग्रमा ३–१ को जित निकालेको हो।
पार्क दे प्रिन्स मैदानमा भएको खेलमा फाबियन रुइसले २७औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। पहिलो लेगमा उस्मान डेम्बेलेको एक मात्र गोलले अग्रता बनाएको पिएसजीका लागि यो गोल निर्णायक बन्यो।
दोस्रो हाफमा भिटिन्हाले पाएको पेनाल्टी गुमाए। तर, अफ्राच हाकिमीले ७२औं मिनेटमा गोल गर्दै आर्सनलको फाइनल पुग्ने सम्भावनामा पूर्णविराम लगाइदिए। त्यसपछि बुकायो साकाले एक गोल फर्काए पनि त्यो पर्याप्त भएन।
पिएसजीको जितसँगै पेरिस सहर उत्सवमय बन्यो। च्याम्प्स-एलिसे सहितका स्थानमा समर्थकहरूले विजयउत्सव मनाए। अब पिएसजीले मे ३१ मा म्युनिखमा इन्टर मिलानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
केलियन एमबाप्पे फ्रान्सबाट रियल मड्रिड गए पनि पिएसजीलाई यसपल्ट खासै फरक भने परेन। यो पिएसजीको इतिहासमा दोस्रो च्याम्पियन्स लिग फाइनल हो। यसअघि सन् २०२० मा पिएसजी बायर्न म्युनिखसँग पराजित भएका थिए। ‘यो सजिलो यात्रा थिएन। हामीले धेरै मिहिनेत गरेका छौं। फाइनल पुग्नु मात्र उद्देश्य होइन, हामी उपाधि जित्न चाहन्छौं,’ कप्तान मार्किन्होसले भने।
दोस्रो पटक च्याम्पियन्स लिगको फाइनल पुग्न खोजिरहेको आर्सनलको सपना भने यहीँ समाप्त भयो। सन् २००६ मा बार्सिलोनासँग पराजित भएको उनीहरूको एक मात्र फाइनल यात्रा थियो।
‘आज पेरिसमा यस्तो टोलीविरुद्ध खेल्न पाउनु आफैंमा उपलब्धि हो। तर, अन्त्यमा नतिजा महत्व राख्छ। कहिलेकाहीँ विपक्षीलाई पनि सम्मान गर्नुपर्छ। दुवै खेलमा डोनारुम्माको प्रदर्शन निर्णायक रह्यो,’ आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटाले भने।
अब पिएसजीको नजर पहिलो च्याम्पियन्स लिग उपाधि जित्ने ऐतिहासिक अवसरमा केन्द्रित हुनेछ।