काठमाडौं। फुटबल इतिहासकै सबैभन्दा धेरै गोल गर्ने खेलाडी क्रिस्टियानो रोनाल्डोका जेठो छोरा क्रिस्टियानो डस सान्तोस पहिलोपटक पोर्चुगलको यु–१५ राष्ट्रिय टिममा समावेश भएका छन्।
१४ वर्षीय सान्तोस अहिले आफ्नै बुबा रोनाल्डो खेलिरहेको साउदी क्लब अल–नासरको जुनियर टिमबाट खेल्दै आएका छन्। छोराले पनि आफ्नो पाइला पछ्याएकोमा रोनाल्डोले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्।
रोनाल्डोले इन्स्टाग्राम स्टोरीमा लेखेका छन्,‘तिमीप्रति गर्व छ छोरा !’ यु–१५ पोर्चुगल टोली अब मे १३ देखि १८ सम्म क्रोएसियामा हुने सातौं संस्करणको ‘व्लाट्को मार्कोभिच’ अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने तयारी गर्दैछ। पोर्चुगलले चार खेल खेल्नेछ।
पहिलो खेल जापानसँग (मे १३) हुनेछ। त्यसपछि ग्रीस (मे १४) र इङ्ग्ल्यान्ड (मे १६) र अन्तिम खेल मे १८ मा हुनेछ। तर, अन्तिम खेलको विपक्षी टोली भने अझै तय भएको छैन।
रोनाल्डोले पोर्चुगल र विश्व फुटबलका लागि गरेका योगदान शब्दले बयान गर्न कठिन छ। सन् २००३ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले १३६ गोलसहित सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान राखेका छन्। उनले युरोकप २०१६ र पहिलो युएफा नेसन्स लिगको उपाधि दिलाउन टिमको कप्तानी गरेका थिए।
उनका छोरा सान्तोसले पनि बुबाको विरासतलाई निरन्तरता दिँदै भविष्यमा उत्कृष्ट खेलाडी बन्नेमा समर्थक आशावादी देखिएका छन्।