काठमाडौं। च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा क्याटलान क्लब बार्सिलोनाविरुद्ध इन्टर मिलान चुनौतीको सामना गर्न तयार हुँदैछ। तर, सबैको ध्यान केन्द्रित छ, बार्सिलोनाका १६ वर्षीय चमत्कारी युवा विंगर लामिन यमलमा।
युरोपको सबैभन्दा ठूलो स्टेजमा आफूलाई प्रमाणित गर्दै यमलले सिरी ‘ए’ का अनुभवी प्रशिक्षकहरूलाई समेत हैरान बनाएका छन्। च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा उनले गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बन्ने कीर्तिमान बनाए। तर, त्यो भन्दा अझ महत्त्वपूर्ण थियो उनको समग्र प्रदर्शन।
लोभलाग्दो ड्रिब्लिङ, उत्कृष्ट पासिङ र गतिको संगम। यी सबैले इन्टरको डगआउटमा खतरा संकेत दिएको थियो। ‘अन्तिम ८–९ वर्षमा मैले लमिन यमलजस्तो खेलाडी देखेको छैन,’ इन्टरका प्रशिक्षक सिमोने इन्जाघीले पहिलो लेगको ३–३ को रोमाञ्चक ‘ड्र’मा पछि भनेका थिए, ‘हामीले उसलाई रोक्न तीन खेलाडी लगाएका थियौं। तर, त्यसले अन्यत्र खाली ठाउँ खोलिदियो।’
इन्जाघीको यो भनाइ निकै अर्थपूर्ण थियो। इन्टरले बार्सिलोनाको आक्रमणलाई रोक्ने योजना बनाए पनि यमलजस्तो युवा प्रतिभालाई रोक्ने योजना असफल भयो। ‘उसले हामीलाई निकै अप्ठ्यारो बनायो। दुई खेलाडीले रोक्न सकेनन्। तीन खेलाडीले घेर्दा हामी अन्यत्र खाली ठाउँ खुल्यो,’ इन्जाघीले थपे। उनी यमलसम्म बल नपुगोस् भन्ने प्रयास गर्ने बताउँछन्। तर, फुटबल त्यो सम्भव हुँदैन।
इन्टरका संयमी डिफेन्डर एलेस्सान्द्रो बास्तोनीले पनि यमलको प्रशंसा गरे। ‘मैले खेलेका सबै खेलाडीमध्ये यमल नै सबैभन्दा उत्कृष्ट लाग्यो। मौका सिर्जना गर्ने क्षमतामा उनको असाधारण छ,’ उनले सुनाए।
अब दोस्रो लेग निर्णायक मोडमा पुग्दा इन्जाघी गम्भीर द्विविधामा छन्– यस्तो पुस्तागत प्रतिभालाई कसरी रोकिने भन्ने।
खेलअघि इनजाघीसँग सोधिएको थियो– के इन्टरले यमललाई रोक्न नयाँ रणनीति अपनाउनेछ? उनले स्पष्ट जवाफ दिँदै भने, ‘उनीलाई रोक्न गाह्रो छ। हामी बल उससम्म कम जाओस् भन्ने प्रयास गर्नेछौं, तर त्यो असम्भवजस्तै छ। हामीले उसलाई डबल मार्क गर्नेछौं, तर, ऊ धेरै खतरनाक छ। उसको सोच्ने गति धेरै राम्रो छ।’
इन्टरको बायाँ पंक्तिमा केही संरचनात्मक परिवर्तन सम्भव छ। ‘हेरौं के हुन्छ। डिमार्को र कार्लोस अगस्टोसँगै खेलेका छन्। यमलप्रति ध्यान केन्द्रित गर्नु स्वाभाविक हो, तर बार्सिलोनासँग अन्य उत्कृष्ट खेलाडीहरू पनि छन्, इन्जाघीले थपे।
वास्तवमा बार्सिलोनाको बलियो पक्ष यमलमा मात्र सीमित छैन। तर, उनले इन्टरका लागि एउटा गाह्रो रणनीतिक चुनौती खडा गरेका छन्। बुधबारको निर्णायक भिडन्ततर्फ दुवै टोली अग्रसर हुँदा एक कुरा निश्चित छ– इन्टरको रणनीति सुरु हुन्छ र सम्भवतः यमलबाटै सकिन्छ।