काठमाडौं। बार्सिलोनाका विंगर राफिन्हाले ब्राजिलको राष्ट्रिय टोलीबाट अहिलेसम्म दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता– कतार फिफा विश्वकप २०२२ र कोपा अमेरिका २०२४ खेलिसकेका छन्।
यति मात्रै होइन उनले ब्राजिलका लागि धेरै क्वालिफायर र मैत्रीपूर्ण खेलहरू पनि खेलेका छन्। तर, यो सब हुनै नपाउने अवस्थामा पुगेको थियो। राफिन्हा इटालीको राष्ट्रिय जर्सीबाट खेल्नेनजिक पुगेका थिए।
पहेँलो जर्सीको सट्टा उनले इटालीको निलो जर्सी लगाउने सम्भावना थियो। सम्भवत: युरोकप पनि जित्ने थिए। पछिल्लो समय बलोन डि’ओरको प्रबल दाबेदार मानिने राफिन्हालाई ब्राजिलले कुनै पनि उमेर समूहको टोलीबाट खेल्न कहिल्यै बोलाएन।
सन् २०२० मा रेनेसबाट लिड्स युनाइटेड जाँदा पनि विश्व फुटबलमा उनको नाम त्यति चर्चित थिएनन्। त्यसको एक वर्षपछि इटालीले कोभिड महामारीका कारण ढिला भएको युरो २०२० खेल्दै थियो।
त्यही बेला इटालीले राफिन्हामाथि चासो दिएको हो। उनका बुबा राफाएल डायस बेलोली इटालियन मूलका भएकाले राफिन्हा इटालीका लागि खेल्न योग्य थिए।
इटालियन फुटबल संघले उनलाई राष्ट्रिय टोलीमा ल्याउन प्रयास गरेको बताइएको छ। यदि त्यो प्रयास सफल भएको भए जोर्गिन्हो, राफाएल टोलोई र एमर्सन पल्मिएरीजस्तै ब्राजिलमै जन्मिएर इटालीबाट खेलेका खेलाडीहरूसँग युरोकप खेल्ने थिए।
यद्यपि, ती अन्य खेलाडीहरू केही वर्ष इटालीमा बसेका थिए। तर, राफिन्हा कहिल्यै इटाली गएका थिएनन्। अन्ततः इटालियन राहदानी समयमै नआएको कारण उनले इटालीबाट खेल्ने अवसर गुमाए।
र, सम्भवत: त्यो नै सबैभन्दा राम्रो निर्णय भयो। इटालीले राफिन्हाबिना युरोकप जित्यो। राफिन्हाले आफ्नो जन्मभूमि ब्राजिलबाट खेल्ने आफ्नो सपना पूरा गर्न सके।
राफिन्हाले एक अन्तर्वार्तामा भने,‘म इटालीको राष्ट्रिय टोलीमा खेल्नै लागिसकेको थिएँ। सबै कुरा समयमै भइदिएको भए युरोपेली च्याम्पियनसिप जित्दा म पनि टोलीमा हुने थिएँ। म लगभग तयार भइसकेको थिएँ।’
उनले थपे, ‘इटालीको टोलीका स्टाफले मलाई पटक–पटक सम्पर्क गरिरहे। जोर्गिन्होले पनि मलाई सधैं फोन गर्थे। उनीसँग मेरो लागि उत्कृष्ट योजना थियो, जुन निकै प्रेरणादायक लाग्यो। तर,मनमा अझै एक प्रतिशत आशा बाँकी थियो, ब्राजिलको जर्सी लगाउने। र, भाग्यवश मेरो इटालियन पासपोर्ट समयमै आएन।’
राफिन्हा युरोकप जित्थे या नजित्थे भन्ने कुरा अनिश्चित छ (बटरफ्लाइ इफेक्ट भन्नुपर्छ)। तर, उनीमा कुनै पछुतो भने छैन। उनले अहिले आफ्नो जन्मदेश ब्राजिलका लागि केही ठूलो जित्ने लक्ष्य राखेका छन्।