काठमाडौं। एसी मिलानले दुई मिनेटमा दुई गोल गर्दै सिरी ‘ए’ खेलमा जिनोआलाई २–१ ले पराजित गरेको छ। योसँगै आगामी सिजनको च्याम्पियन्स लिगको आशा जिवितै राखेको छ।
सोमबार भएको खेलमा मैदान भित्रिएको केही मिनेटमै वैकल्पिक खेलाडी भिटिन्हाले गोल गर्दै जिनोआकालाई अग्रता दिलाएका थिए।
तर, ७६औं मिनेटमा राफाएल लियोको शक्तिशाली प्रहार डिफ्लेक्ट भएर गोलमा परिणत भयो। योसँगै मिलान बराबरीमा फर्कियो। त्यसको दुई मिनेटमै जिनोआका कप्तान मोर्टन फ्रेन्डरपले आत्मघाती गोल गरेपछि मिलानले अग्रता लियो।
यस जितपछि मिलान अंक तालिकाको नवौं स्थानमै यथावत् छ। तर, शीर्ष चार स्थानसँगको अन्तर ६ अंकमा झरेको छ। चौथो स्थानमा रहेको युभेन्ट्स, रोमा र लाजियोसँग समान अंकमा छ।
सिरी एमा अब तीन खेल मात्रै बाँकी छन्। मिलानले बाँकी खेलमा बोलोन्या, रोमा र पुछारमा रहेको मोन्जाविरुद्ध खेल्नेछ। जिनोआ भने पछिल्ला तीनै खेल हारेको छ र तालिकाको १३औं स्थानमा छ।