काठमाडौं। अल–अहलीले शनिबार जापानी क्लब कावासाकी फ्रन्टालेलाई २–० ले पराजित गर्दै पहिलो पटक एएफसी च्याम्पियन्स लिग एलिट उपाधि जितेको छ।
साउदी अरबको जेदाहमा रहेको किङ अब्दुल्ला स्पोर्ट्स सिटी स्टेडियममा ६० हजार समर्थकको सामु अल–अहलीले सहज जित हात पार्दै अपराजित रहेर उपाधि उचालेको हो। घरेलु मैदानमा भएको खेलमा स्टार खेलाडीले भरिएको अल–अहलीलाई उपाधि दिलाउन पहिलो हाफमा गालेनो र फ्रान्क केस्सीले गरेको गोल नै पर्याप्त बन्यो।
यससँगै अल–अहली एएफसी च्याम्पियन्स लिग जित्ने साउदी अरबको तेस्रो क्लब बनेको छ। यसअघि जेदाहकै अर्को क्लब अल–इत्तिहाद र रियादको अल–हिलालले यो उपाधि जितेका थिए।
यो संस्करणको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल तीनै चरण जेदाहमा आयोजित भएकोले अल–अहलीले घरेलु समर्थनको भरपूर फाइदा उठायो। खेलको ३५औं मिनेटमा रोबर्टो फिरमिनोको क्रसमा गालेनो पेनाल्टी बक्सको बाहिरी क्षेत्रबाट सुन्दर कर्लिङ शटमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। गालेनो यस वर्ष जनवरीमा पोर्टोबाट करिब ५५ मिलियन अमेरिकी डलरमा अनुबन्धित भएका थिए।
त्यसपछि खेल सकिन तीन मिनेट बाँकी रहँदा फेरि फिरमिनोको पासबाट केस्सीले हेडर गर्दै दोस्रो गोल गरे। केस्सी एसी मिलान र बार्सिलोनाका पूर्वखेलाडी हुन्। फिरमिनोलाई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने।
पाँच पटकको जापानी च्याम्पियन कावासाकीले यसअघि सेमिफाइनलमा क्रिस्टियानो रोनाल्डोको अल–नासरलाई हराएर पहिलो पटक फाइनल पुगेको थियो। तर, फाइनलमा टोलीले स्पष्ट अवसर बनाउन सकेन।
लिभरपुलबाट सन् २०२३ मा साइन भएका फिरमिनो, म्यानचेस्टर सिटीबाट आएका रियाद महरेज र चेल्सीबाट आएका गोलकिपर एडुअर्ड मेन्डी अघिल्लो युरोपेली च्याम्पियन्स लिग पनि जितेका अनुभवी खेलाडी हुन्। महरेजले यस प्रतियोगितामा नौ गोल गरे।
महरेजले खेलको अन्त्यतिर तेस्रो गोल गर्ने अवसर गुमाए। त्यसबेला घरेलु समर्थकहरू पहिले नै जितको खुसी मनाइरहेका थिए।