काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश राष्ट्रिय महिला हक्की प्रतियोगितामा शनिबार उपाधिनजिक पुगेका छन्।
ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीले बागमती प्रदेशलाई ८–० गोलअन्तरले हराउँदै दोस्रो जित निकाल्यो। आर्मीको जितमा कमला चन्द, निलिमा पाण्डे र दमारा भट्टले समान दुई गोल गरे। सुनिता नेगी र सीतामाया बलले समान एक गोल थपे।
चार टोली सहभागी महिलातर्फ लिगको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। हालसम्म आर्मीसँगै गण्डकी प्रदेशले पनि दुई जित निकालेको छ। समान दुई खेलबाट आर्मी र गण्डकीको समान ६ अंक छ।
अब आगामी आइतबार गण्डकी र आर्मीबीच प्रतिस्पर्धा हुँदै छ। यो खेलले नै उपाधि विजेताको टुङ्गो लगाउनेछ। लिगमा समान दुई खेल खेलेका बागमती र मधेशले भने अंक जोड्न सकेका छैनन्।
राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ। च्यासलमा नै भएको समूह ‘बी’ को खेलमा पुलिसले एपिएफ क्लबमाथि ३–० को जित निकाल्यो। पुलिसका नवराज खत्रीले ह्याट्रिक गरे।
जितसँगै चार टोली रहेको समूहबाट शीर्ष दुईमा रहँदै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको छ। समान दुई खेलबाट अपराजित पुलिसको ६ अंक र कर्णालीको तीन अंक छ। समान दुई खेलबाट एपिएफ र बागमतीको समान एक अंक छ। यो समूहमा कर्णालीसँगै एपिएफ र बागमती तीनै टोलीको शीर्ष दुईभित्र रहेर सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ।
पुरुषको अर्को खेलमा कोसी र गण्डकीले ३–३ गोलको बराबरी खेले। कोसीका लक्ष्मण समारिया, योगेशकुमार बारघरे र आर्यान चौधरीले समान एक गोल गरे। गण्डकीका लागि भने दीपक तामाङले दुई तथा संगम घर्तीमगरले एक गोल गरे।
दुवै टोली जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्थे। तर, यो खेलको नतिजा बराबरी भएपछि आर्मीले सेमिफाइनलमा स्थान बनायो। समान दुई खेलबाट आर्मी ६ अंकसहित शीर्ष स्थानमा छ। समान दुई खेलबाट कोसीको ४ अंक, गण्डकीको एक अंक छ भने मधेश अंकविहीन छ। अब कोशी र गण्डकीमध्ये एक टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना छ।