काठमाडौं। ब्वाइज युनियन क्लब रोमाञ्चक जितसहित सहिद स्मारक ‘बी’ डिभिजन लिगमा तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा ब्वाइज युनियनले ब्रिगेट ब्वाइज क्लबलाई ३–२ ले पराजित गरेको हो।
यो नतिजासँगै ब्वाइज युनियनले नौ खेलबाट १५ अंक बनाएको छ। समान खेलबाट ब्रिगेटको १२ अंक छ।
व्बाइज युनियनको जितमा दोर्जे तामाङ, सुजित बूढाथोकी र मिलन लिम्बूले गोल गरे। ब्रिगेटका रोमन श्रेष्ठ र आषिश गुरुङले गोल गरे पनि पर्याप्त रहेन।
२९औं मिनेटमा दोर्जेले ब्वाइज युनियनलाई सुरुआती अग्रता दिलाएका थिए। ६६औं मिनेटमा सुजिले अग्रता दोब्बर बनाए। ७१औं मिनेटमा मिलनले अर्को गोल गर्दा ब्वाइज युनियन ३–० ले अगाडि बढेको थियो।
तर, ७९औं मिनेटमा रोमनले गोल गर्दै खेल ३–१ मा ल्याए। ८७औं मिनेटमा आषिशले अर्को गोल गर्दै खेल ३–२ मा ल्याए। तर, त्यसपछि गोल हुन सकेन र ब्रिगेटले अंक दूरी बढाउने मौका गुमायो।