काठमाडौं। बायर्न म्युनिखका अनुभवी खेलाडी थोमस मुलरले यस शनिबार आरबी लाइपजिगविरुद्धको खेलमा जित निकाल्न सके, आफ्नो १३औं बुन्डेसलिगा उपाधि जित्नेछन्। क्लबसँग २५ सिजन लामो यात्रा पूरा गर्दैगर्दा यो सम्भवतः उनको अन्तिम सिजन हुनसक्छ।
हाल बायर्नले डिफेन्डिङ च्याम्पियन बायर लेभरकुजेनसँऊ आठ अंकको अग्रता बनाएको छ र तीन खेल बाँकी छन्। यदि शनिबार बायर्नले लाइपजिगलाई पराजित गर्न सके दुई खेलअगाबै उपाधि जितेर च्याम्पियन बन्नेछन्।
बायर्नले लाइपजिगको मैदानमा अन्तिमपटक सन् २०२१ मा जित निकालेको थियो। यदि यसपटक बायर्नले चुक्छ भने पनि आइतबार लेभरकुजेनले फ्रायबर्गलाई हराउन नसकेमा बायर्न स्वतः बुन्डेसलिगा विजेता बन्नेछ।
थोमस मुलरका लागि यो अर्को लिग उपाधि ऐतिहासिक विदाइ बन्नसक्छ। १० वर्षको उमेरमा बायर्नमा आबद्ध भएका मुलरले गत साता आफ्नो ५००औं बुन्डेसलिगा खेल खेलेका थिए। उनले क्लबसँगै दुई च्याम्पियन्स लिगसहित ३२ उपाधि जितेका छन्। तर, क्लबले नयाँ सिजनका लागि अनुबन्ध बढाउने छैन। त्यसैले उनी यो सिजनपछि क्लबबाट बिदा हुने भएका छन्।
कुनै पनि खेलाडीले १३ बुन्डेसलिगा उपाधि अहिलेसम्म जितेका छैनन् र युरोपका पाँच ठूला लिगमा यो कीर्तिमान म्यानचेस्टर युनाइटेडका रायन गिग्ससँग मात्रै छ। ‘यो सुन्दा राम्रो लाग्छ, होइन र?’ मुलरले बुधबार बुन्डेसलिगा वेबसाइटसँगको अन्तर्वार्तामा भने,‘मैले पहिलो उपाधि २०१० मा जितें। त्यो ट्रफी समात्दा लाग्छ, यो सजिलो छैन। सिजनभर कडा मिहिनेत र निरन्तर प्रदर्शन चाहिन्छ।’
हालै विदाइको चर्चा भए पनि मुलरको ध्यान त्यसतर्फ छैन। क्लबलाई उपाधि जिताउने लक्ष्यमै केन्द्रित रहेको उनी बताउँछन्। ‘गर्वको कुरा गर्दा म भविष्यमा के गर्ने भन्ने सोच्ने मान्छे हुँ। विगत हेर्न रमाइलो हुन्छ तर जीवनमा अगाडि बढ्नुपर्छ,’ उनले भने।