काठमाडौं। च्यासल युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा नयाँ बस्ती युवा क्लबलाई च्यासलले ४–२ ले पराजित गरेको हो। जितसँगै च्याललले नौ खेलमा १४ अंक जोडेको छ। पराजित नयाँ बस्ती समान खेलबाट आठ अंकका साथ १०औं स्थानमा यथावत् छ।
च्यासललाई जित दिलाउन नीरज कार्की, सुवास बम ठकुरी र कुशल देउवाले गोल गरे। एक गोल आत्मघातीस्वरुप प्राप्त भयो। नयाँ बस्तीका पूर्णबहादुर गुरुङ र जामिन लक्षमले गोल गरे।
खेलको १०औं मिनेटमा नीरजको गोलमार्फत च्यासलले अग्रता लिएको थियो। आठ मिनेटपछि नै निमा वाङ्गेल तामाङबाट आत्मघाती गोल हुन पुग्दा च्यासलको अग्रता दोब्बर बन्यो।
सुवासले २३औं मिनेटमा च्यासलका लागि तेस्रो गोल गरे। दुई मिनेटपछि नै पूर्णले नयाँ बस्तीका लागि एक गोल फर्काए।
कुशलले ७८औं मिनेटमा गोल गर्दा च्यासलको अग्रता ४१ मा पुग्यो। ८९औं मिनेटमा जामिनले नयाँ बस्तीका लागि दोस्रो गोल गरे। त्यस टोलीका लागि पर्याप्त बनेन।