काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पिएसजी) फेरि एकपटक च्याम्पियन्स लिगको फाइनलनजिक पुगेको छ।
मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा ओस्मान डेम्बेलेले खेलको चौथो मिनेटमै गरेको गोलसँगै पिएसजीले आर्सनललाई १–० ले पराजित गरेको हो।
खेलको सुरुमा नै पिएसजीले आर्सनललाई दबाबमा राख्दै आक्रमण थालेको थियो। चौथो मिनेटमा ख्विचा ख्वारात्स्खेलियाको पासमा डेम्बेलेले पहिलो टचमै गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यो गोल बनाउन पिएसजीले लगातार २६ पास खेलेको थियो, जुन सन् २००३–०४ यता च्याम्पियन्स लिगमा टोलीको सर्वाधिक हो।
पहिलो हाफको केहीअघि ग्याब्रियल मार्टिनेलीको सटलाई जियानलुइजी डोनारुम्माले एक हातले अद्भुत बचाउ गर्दै आर्सनललाई बराबरी गर्न दिएनन्। दोस्रो हाफमा आर्सनलले सुधारिएको प्रदर्शन गर्यो। डेक्लान राइसको फ्रिकिकमा मिकेल मेरिनोले हेडरमार्फत गोल गरेका थिए। तर, लामो भिएआर जाँचपछि अफसाइड ठहरियो।
दुवै टोली आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छन्। पिएसजीले सन् २०२० मा बायर्न म्युनिखसँग फाइनल हार बेहोरेको थियो। आर्सनल भने २००६ मा बार्सिलोनासँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो। अब अर्को सेमिफाइनलमा बुधबार बार्सिलोना र इन्टर मिलान आमनेसामने हुँदैछन्।