काठमाडौं। क्रिस्टियानो रोनाल्डोको प्रेरणादायी प्रदर्शनमा साउदी अरबको क्लब अल–नासरले शनिबार जापानी क्लब योकोहामा एफ मरिनोसलाई ४–१ ले हराउँदै एएफसी च्याम्पियन्स लिग इलिटको सेमिफाइनलमा स्थान बनाएको छ।
४० वर्षीय रोनाल्डोले पहिलो हाफमा सानदार प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो आठौं गोल गरे। प्रतियोगिताको क्वार्टरफाइनलदेखि फाइनलसम्मका सबै खेलहरू जेद्दामा आयोजना भइरहेका छन्, जसको विजेता मे ३ मा तय हुनेछ।
सेमिफाइनलमा अल–नासरले अब कतारको अल–सद्द वा जापानको कावासाकी फ्रन्टालेसँग प्रतिस्पर्धा गर्नेछ। यी दुईबीचको भिडन्त आइतबार हुनेछ।
खेलको सुरुआतमै जनवरीमा एस्टन भिल्लाबाट १०० मिलियन डलरभन्दा बढीमा भित्र्याइएका जोन ड्युरानले नजिकैबाट गोल गर्दै अल–नासरलाई अग्रता दिलाए। त्यसको चार मिनेटपछि लिभरपुलका पूर्वस्टार साडियो मानेले पेनाल्टी क्षेत्रको बायाँ भागबाट शक्तिशाली प्रहार गर्दै अर्को गोल थपे।
पहिलो हाफ अघि नै अल–नासरको पहिलो महादेशीय उपाधिको खोजीमा ठूलो फड्को मार्ने क्रममा रोनाल्डोले टोलीका लागि तेस्रो गोल गरे। गोलकिपर पार्क इल–क्युले मार्सेलो ब्रोजोभिचको प्रहारलाई सही ढंगले नियन्त्रण गर्न नसकेपछि रोनाल्डोले नजिकैबाट गोल गर्दै यो सिजनमा आफ्नो कुल ३३औं गोल पूरा गरे।