काठमाडौं। बार्सिलोनाले कोपा डेल रे फाइनलमा रियल मड्रिडलाई ३–२ ले हराउँदै आफ्नो ट्रेबल जित्ने अभियानमा बलियो सुरुआत गरेको छ। खेलको ११६औं मिनेटमा जुल्स कुन्डेले निर्णायक गोल गर्दै बार्सिलोनालाई उपाधि दिलाएका हुन्।
राइट ब्याक कुन्डेले लुका मोड्रिचको पास छिचोलेर थिबाउ कोर्ट्वाको जालिमा बल प्रहार गरेका थिए। बार्सिलोना आफ्नो कीर्तिमानी ३२औं कोपा डेल रे उपाधिसँगै बुधबारदेखि सुरु हुने च्याम्पियन्स लिग सेमिफाइनलमा इन्टर मिलानविरुद्ध खेल्न आत्मविश्वासका साथ अघि बढेको छ। साथै, बार्सिलोना ला लिगामा पनि रियलभन्दा चार अंकले अगाडि छ।
ला कार्टुजा स्टेडियममा भएको फाइनलमा पेड्रीले २८औं मिनेटमा टाढाबाट गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए। तर, दोस्रो हाफमा रियल खेलमा फर्कियो।
किलियन एम्बाप्पेले ७०औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै बराबरी गरे। त्यसपछि ७७औं मिनेटमा अरेलियन चुआमेनीले हेडरमार्फत रियललाई २–१ को अग्रता दिलाए।
८४औं मिनेटमा फेरान टोरेसले बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याए। र, अन्ततः कुन्डेले बार्सिलोनाको जित सुनिश्चित गरे।
बार्सिलोनाले यस सिजनका तीनै क्लासिकोमा रियललाई पराजित गरेको छ। जनवरीमा स्पेनिस सुपर कपको फाइनलमा ५–२ र अक्टोबरमा लिग खेलमा रियललाई ४–० ले हराएको थियो।