काठमाडौं। पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा खेलमा फर्किएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा साबिक विजेता ललितपुर सिटी एफसीविरुद्ध पोखराले गोल गरेको हो। योसँगै खेल १–१ को बराबरीमा पुगेको छ। ललितपुरलाई इमो इजिकेलले सुरुआती अग्रता दिलाएका हुन्।
उनले खेलको ४२औं मिनेटमा गोल गरे। मनोज राईले दिएको क्रसलाई पोखराका गोलकिपर प्रिसोले रोक्ने प्रयास गरेका थिए। तर, सही जजमेन्ट गर्न नसक्दा इजिकेलले सिक्स यार्ड बक्सनजिकबाट हेडर गर्दै गोलमा परिणत गरे।
उनलाई समीर तामाङ र एकराज बूढाथोकीले पनि रोक्न सकेनन्। जारी प्रतियोगितामा उनको यो तेस्रो गोल हो।
तर, ६४औं मिनेटमा सुदील राईले पोखरालाई खेलमा फर्काए। स्टेफन समीर बिनोङले हेडरमार्फत प्रहार गरेको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले सेभ गरेका थिए।
तर, रिबाउन्डमा आएको बललाई सुदीलले गोलमा परिणत गरे। उनलाई ललितपुरका डिफेन्डर सनिश श्रेष्ठले रोक्न सकेनन्। जारी प्रतियोगितामा सुदीलको यो दोस्रो गोल हो।