मणिको रातो कार्ड फिर्ता नभएको भए ललितपुरले खेल्ने थिएन फाइनल !

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीविरुद्धको खेलमा रेफ्रीको गल्तीले रातो कार्ड पाएका ललितपुर एफसीका मणिकुमार लामाले शनिबार पोखरा थन्डर्सविरुद्ध फाइनल खेल्दैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अघिल्लो शनिबार धनगढीविरुद्ध पहिलो क्वालिफायरमा मिडफिल्डर मणिले १६औं मिनेटमा रातो कार्ड पाएका थिए। मणिको खुट्टामा रहेको ‘एअर बल’लाई क्लियर गर्न धनगढीका डिफेन्सिभ मिडफिल्डर मोहमम्द अल जाउलिनी पुगेका थिए।
उनले मणिबाट कुनै खतरा नरहेको अवस्थामा सिधै खुट्टाले छात्तीमा प्रहार गरेका थिए। तर, मुख्य रेफ्री उमेश बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि उल्टै मणिलाई सिधै रातो कार्ड दिएका थिए। मोहम्मदलाई भने पहेँले कार्डमात्रै देखाइएको थियो। लगत्तै ललितपुरले उक्त निर्णयविरुद्ध अपील गरेको थियो।
उक्त अपीलमाथि सुनुवाई गर्दै एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) र अपिल समितिले गत मंगलबार रेफ्रीले गल्ती गरेको स्वीकार्दै मणिले पाएको रातो कार्ड फिर्ता लियो।
‘उक्त घटनाको विभिन्न क्यामेरा कोण र प्रोडक्सन टोलीबाट प्राप्त गरिएको फुटेजको आधारमा समीक्षा गर्दा मणिले कुनै स्पष्ट प्रतिशोधको कार्य गरेको प्रमाण भेटिएन,’ एनएसइएमले ललितपुरलाई पठाएको पत्रमा भनिएको थियो। तर, रातो कार्ड फिर्ता लिनुको कारण यो मात्रै थिएन। गत संस्करणको विजेता ललितपुरले रेफ्रीको निर्णय नउल्टाए फाइनलसमेत नखेल्ने निर्णय गरेको थियो।
आयोजक एनएसइएमले उक्त निर्णयलाई धम्कीको भाषाको संज्ञा दिएको छ। ललितपुरलाई सचेत गराउँदै एनएसइएमले भनेको छ,‘हामी अपीलको भाषा र सामग्रीसम्बन्धी कुरा पनि उल्लेख गर्न चाहन्छौं। त्यसमा फाइनल खेलबाट सम्भावित बहिर्गमन हुने कुरा उल्लेख थियो। हामी क्लबलाई यस्ता अभिव्यक्तिहरूबाट जोगिन आग्रह गर्दछौं। किनकि यस्ता कुरा स्वस्थ प्रतिस्पर्धाको भावना अनुरूप हुँदैनन् र सकारात्मक वातावरण निर्माणमा सहायक हुँदैनन्।’
मोहम्मद सामुन्ने लड्दा मणिको खुट्टाले कतै लागेको देखिएको थिए। तर, मोहम्मद मैदानमा लडेर ठूलो नाटक मञ्चन गरेपछि ललितपुरका कप्तान अनन्त तामाङसहित खेलाडीले गरेको अपीलमा पनि बिडारीले कुनै चासो देखाएका थिएनन्। सहायक रेफ्री किसन कन्हैयाले पनि प्रतिवाद गरेनन्।
बरु मणिलाई नै मैदान बाहिर पठाइएको थियो। मणिलाई सिधै छात्तीमा प्रहार गर्ने मोहम्मदले भने पहेँलो कार्ड मात्रै पाए। मुख्य रेफ्री बिडारी र फोर्थ अफिसियल दनुवार फिफा ब्याच प्राप्त रेफ्री हुन्। बिडारीले यही वर्ष फिफा रेफ्रीको ब्याच पाएका हुन्। यसका बाबजुद पनि ललितपुरले २–१ को जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो। एनएसइएम पनि मणिले जानजान कुनै ‘फउल’ गर्ने काम नगरेको स्विकार गरेको छ।
यस आधारमा मणिलाई दिइएको रातो कार्ड फिर्ता लिने निर्णय गरेको बताइएको छ। त्यसैले उनी फाइनल खेल्न योग्य भएका हुन्। तर, एनएसइएमले अबदेखि ओनर्स बक्समा शिष्टाचार कायम राख्न ललितपुरसँग आग्रह गरेको छ। त्यस्तै खेल सकिएपछि रेफ्रीमाथि बोतल प्रहार भएको घटनालाई लिएर गालीगलौज, वस्तु फ्याँक्ने र खेल भावना विपरीतका गतिविधि नगर्न सचेत पनि गराएको छ।









-1763309767672.webp&w=3840&q=75)



