मणिको रातो कार्ड फिर्ता, फाइनल खेल्न पाउने

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)ले धनगढी एफसीविरुद्धको खेलमा रेफ्रीको गल्ती भएको स्विकार गर्दै ललितपुर एफसीका मणिकुमार लामाले पाएको रातो कार्ड फिर्ता लिएको छ।
योसँगै उनले फाइनल खेल्ने पाउने भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत शनिबार धनगढीविरुद्ध पहिलो क्वालिफायरमा मिडफिल्डर मणिले १६औं मिनेटमा रातो कार्ड पाएका थिए।
मणिको खुट्टामा रहेको ‘एअर बल’लाई क्लियर गर्न धनगढीका डिफेन्सिभ मिडफिल्डर मोहमम्द अल जाउलीनी पुगेका थिए। उनले मणिबाट कुनै खतरा नरहेको अवस्थामा सिधै खुट्टाले छात्तीमा प्रहार गरेका थिए।
तर, मुख्य रेफ्री उमेश बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि उल्टै मणिलाई सिधै रातो कार्ड दिएका थिए। लगत्तै ललितपुरले उक्त निर्णयविरुद्ध अपिल गरेको थियो।
उक्त अपिलमाथि सुनुवाई गर्दै एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) र अपिल समितिले मंगलबार मणिले पाएको रातो कार्ड फिर्ता लिएको हो।
‘उक्त घटनाको विभिन्न क्यामेरा कोण र प्रोडक्सन टोलीबाट प्राप्त गरिएको फुटेजको आधारमा समीक्षा गर्दा मणिले कुनै स्पष्ट प्रतिशोधको कार्य गरेको प्रमाण भेटिएन,’ एनएसइएमले ललितपुरलाई पठाएको पत्रमा भनिएको छ।
मोहम्मद सामुन्ने लड्दा मणिको खुट्टाले कतै लागेको देखिएको थिए। तर, मोहम्मद मैदानमा लडेर ठूलो नाटक मञ्चन गरेपछि ललितपुरका कप्तान अनन्त तामाङसहित खेलाडीले गरेको अपिलमा पनि बिडारीले कुनै चासो देखाएका थिएनन्। सहायक रेफ्री किसन कन्हैयाले पनि प्रतिवाद गरेनन्।
बरु मणिलाई नै मैदान बाहिर पठाइएको थियो। मणिलाई सिधै छात्तीमा प्रहार गर्ने मोहम्मदले भने पहेँलो कार्ड मात्रै पाए। मुख्य रेफ्री बिडारी र फोर्थ अफिसियल दनुवार फिफा ब्याच प्राप्त रेफ्री हुन्।
बिडारीले यही वर्ष फिफा रेफ्रीको ब्याच पाएका हुन्। दनुवार भने धेरै अघिदेखिका फिफा रेफ्री हुन्। यसका बाबजुद पनि ललितपुरले २–१ को जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो। एनएसइएम पनि मणिले जानजान कुनै ‘फउल’ गर्ने काम नगरेको स्विकार गरेको छ।
‘लड्ने क्रममा मणिको खुट्टा अनाहकमा मोहम्मदको छातीमा लाग्छ। यो सम्पर्क उनी आफूलाई सम्हाल्ने प्रयासको एक हिस्सामा भएको देखिन्छ। जानाजान गरिएको कुनै आक्रामक व्यवहार वा अनुशासनहीनताको काम गरेको देखिएको छैन,’ खेलापाटीलाई पत्रमा भनिएको छ।
यस आधारमा मणिलाई दिइएको रातो कार्ड फिर्ता लिने निर्णय गरेको बताइएको छ। त्यसैले उनी फाइनल खेल्न योग्य भएका हुन्। बुधबार दोस्रो क्वालिफायरमा धनगढीले पोखरा थन्डर्ससँग खेल्दैछ। विजेताले ललितपुरसँग उपाधिका लागि खेल्ने छ।









-1777639738077.jpeg&w=3840&q=75)



