काठमाडौं। एस्टन भिल्लाले आफ्नो कमजोर ‘अवे’ फर्मलाई बिर्सिंदै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा क्लब ब्रुगविरुद्ध ३–१ को महत्त्वपूर्ण जित निकालेको छ।
खेलको ८२औं मिनेटमा क्लब ब्रुगका डिफेन्डर ब्रान्डन मेचेलले आफ्नै पोस्टमा गोल गर्न पुगेपछि भिल्ला अग्रता लिन सफल भयो। मोर्गन रोजर्सको क्रस रोक्ने प्रयासमा मेचेलले बल गोलपोस्टभित्र धकेलिदिए।
यो गोलपछि घरेलु टोली क्लब ब्रुग निराश देखियो, जसका कारण खेलको अन्त्यतिर भिल्लाले पेनाल्टी अवसर प्राप्त गर्यो। बदलाका रूपमा मैदान प्रवेश गरेका मार्को एसेन्सियोले पेनाल्टीलाई गोलमा परिणत गर्दै भिल्लाको जित सुनिश्चित गरे।
भिल्लाले खेल सुरु भएको तीन मिनेटमै अग्रता लिएको थियो। लियोन बेलीले उत्कृष्ट फिनिश गर्दै टोलीलाई अघि बढाए। तर, दुई मिनेटपछि नै क्लब ब्रुगले बराबरी गोल फर्कायो।
लामो पासमा भिल्लाका डिफेन्डर चुकेपछि ख्रिस्टोस ट्जोलिसले म्याक्सिम डी कुइपरलाई पास उपलब्ध गराए। उनले उत्कृष्ट प्रहार गर्दै गोलरक्षक इमिलियानो मार्टिनेजलाई पार गर्न सफल भए।
भिल्लाले यसअघि समूह चरणको ‘अवे’ खेलमा दुई हार व्यहोरेको थियो, जसमा क्लब ब्रुगविरुद्धको पराजय पनि समावेश थियो। साथै, प्रिमियर लिगमा पनि टोलीले १३ मध्ये सात ‘अवे’ खेल गुमाएको थियो।
तर, यस जितपछि भिल्लाले ‘अवे’ मैदानमा आफ्नो प्रदर्शन सुधार्दै लय समात्ने संकेत देखाएको छ।