एजेन्सी । विश्वकप खेल्ने फिफाको तल्लो वरियताको मुलुक रुसलाई कमैले ठानेका थिए, उसले नकआउट चरणमा स्थान बनाउनेछ । आयोजक राष्ट्रको हैसियतमा विश्वकप खेलिरहेको रुसले समूह चरणको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । उद्घाटन खेलमा साउदी अनि इजिप्टसंगको फराकिलो जितले रुसले घरेलु भुमिमा आफुलाई प्रमाणित गरेको छ ।
रुसी प्रशिक्षक स्टानिस्लाभ चर्चेसोभ भन्छन्, ‘हामीले यही दौड र गतिलाई जोड्न आवश्यक छ । केही भित्री प्रेरणाले काम गरेको छ । मुख्य कुरा हामी घरेलु मैदानमा आफ्ना समर्थकमाझ खेलिरहेका छौ ।’
उरुग्वे सन् १९५४ पछि पहिलो पटक विश्वकपका सूरुवाती दुई खेलमा जित निकालेको छ । र नकआउट चरणमा स्थान पक्का गरेको छ ।
समुह चरणको अन्तिम खेलमा दुवै टोली भिड्दै गर्दा उरुग्वे र रुसको लक्ष्य ३ अंक जोड्दै समुह विजेता बन्नु हुनेछ । तर रुसलाई बराबरीले समेत समुह विजेताको रुपमा नकआउट चरण पुर्र्याउनेछ । कारण, उसले समुह चरणका दुई खेलमा गोल बर्षा गर्दै उरुग्वे भन्दा गोल अन्तरमा अगाडी देखिएको छ ।
‘हामी मान्छौ, पक्कैपनि घरेलु टोलीविरुद्धको खेलमा दबाब हुनेछ । तर हामीले आफ्नो क्षमता अनुसारको प्रर्दशन गर्न सकेका छैनौ ।’ उरुग्वेका प्रशिक्षक ओस्कार तावरेजले भने ।
चोट बोकेका उरुग्वेका डिफेन्डर जोस मारिया आजको खेल गुमाउनेछन् । इजिप्टविरुद्धको खेलमा उनले गोल समेत गरेका थिए । टिमका मुख्य खेलाडी गुमाउनु पर्दा उरुग्वेलाई पक्कै समस्या हुनेछ । तर उनको स्थानमा स्पेनिस क्लब एट्लेटिको मड्रिडका डिफेन्डरलाई प्रशिक्षकले मौका दिन सक्नेछन् ।
इतिहास पल्टाउदा रुसले खेलिएका ८ मध्ये ६ खेलमा उरुग्वेविरुद्ध जित निकालेको छ ।