काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’सम्मिलित अभान्ट ग्वेन्ग्याम्पले फ्रान्सको शीर्ष डिभिजनमा फराकिलो हार बेहोरेको छ।
लिग लिडर लियोनसँग शनिबार राति भएको खेलमा ग्वेन्ग्याम्प ७–० ले पराजित भएको हो। योसँगै अपराजित रहेको लियोनले १५ बाट ४३ अंक पुर्याएको छ। ग्वेन्ग्याम्प भने एक जितसहित तीन अंक जोडेर १२ टोली सहभागी लिगको रेलिगेसन जोनमा छ।
साम्बाले यो खेलमा सुरुआती ११ मै स्थान बनाएकी थिइन्। उनले १५ मध्ये सात खेलमा सुरुआती ११ मा स्थान बनाएकी छन्। बाँकीमा भने उनी वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै आएकी छन्। उनले क्लबबाट एक गोल मात्रै गरेकी छन्।
अब सावित्रा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न स्वदेश फर्किनेछिन्। नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबारदेखि इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप सुरुआत गर्दै छ। उद्घाटन खेलमा नेपालले किर्गिस्तानलाई चुनौती प्रस्तुत गर्नेछ।
तर, साम्बाले उक्त खेल गुमाउने सम्भावना प्रबल रहेको मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए। ‘साम्बा अलिक ढिला गरेर आउने छ। त्यसैले उसले पहिलो खेल खेल्न सक्दैन होला,’ उनले भने।
नेपाली राष्ट्रिय महिला टोलीको जर्सीबाट सर्वाधिक ५५ गोल गरिसकेकी साम्बा पछिल्लो समय फ्रान्समा व्यवसायीक फुटबल खेलिरहेकी छन्।