काठमाडौं। बायर्न म्युनिखले बुन्डेसलिगा १६ वर्षपछि खराब प्रदर्शन दोहोर्याएको छ। शनिबार भएको खेलमा बायर्नले बायर लेभरकुजेनसँग गोलरहित बराबरी खेलेको हो।
खेलभरि लेभरकुजेनले बायर्नलाई दबाबमा राखे पनि गोल गर्न असफल रह्यो। सेन्ट्रल फरवार्ड पाट्रिक सिक र भिक्टर बोनिफेस बेन्चमा बस्दा लेभरकुजेनले लगातार दोस्रो खेलमा गोल गर्न सकेन।
बायर्नका कप्तान तथा गोलकिपर मानुएल नोयरले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई हारबाट जोगाए। खेलपछि उनले भने, ‘हामी नतिजासँग सन्तुष्ट छौं। यति नै भन्न चाहन्छु।’
लेभरकुजेनका प्रशिक्षक जाबी आलोनसोले सिकलाई खेलको दोस्रो हाफको इन्जुरी समयमा मात्र मैदान प्रवेश गराए। यसअघि फ्लोरियन विर्त्जले निर्णायक मौका गुमाए। उनमो प्रहार नोयरले बचाए।
बायर्नले पूरै खेलभरि एक पनि सट अन टार्गेट राख्न सकेन। बुन्डेसलिगा इतिहासमा बायर्नसँग यस्तो घटना दोस्रो पटक मात्र भएको हो। यसअघि सन् २००८ मा वोल्फ्सबर्गविरुद्ध बायर्नले यस्तो खराब प्रदर्शन देखाएको थियो।
यद्यपि, तालिकाको शीर्ष स्थानमा आठ अंकको अग्रता कायम गरेको छ। २२ खेल खेलेको बायर्नको ५५ अंक छ। समान खेलबाट लेभरकुजेनको ४७ अंक पुगेको छ।