काठमाडौं। एट्लेटिको मड्रिडले ला लिगाको शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमाएको छ। शनिबार सम्पन्न खेलमा एट्लेटिकोले सेल्टा भिगोसँग घरेलु मैदानमा १–१ को बराबरी खेलेको हो।
शनिबारै भएको खेलमा रियल मड्रिडले ओसासुनासँग १–१ को बराबरी खेलेको थियो। रियल ५१ अंकसहित शीर्ष स्थानमा छ।
एट्लेटिको ५० अंकमा दोस्रो स्थानमा भने एक खेल कम खेलेको बार्सिलोना ४८ अंकसहित तेस्रो स्थानमा छ। बार्सिलोनाले सोमबार रायो भालेकानोको सामना गर्नेछ।
खेलको चौथो मिनेटमै एट्लेटिको १० खेलाडीमा सीमित भयो। पाब्लो डुरानमाथि खतरनाक ट्याकल गरेपछि मिडफिल्डर पाब्लो बारियोसलाई सिधै रातो कार्ड दिइएको थियो।
बारियोसले एक महिनाभित्र दोस्रो पटक रातो कार्ड पाएका हुन्। यसअघि उनले तीन हप्ता अगाडि बायर लेभरकुजेनविरुद्धको च्याम्पियन्स लिग खेलमा पनि यस्तै ट्याकल गरेपछि कार्ड पाएका थिए।
सेल्टाका इआगो एस्पासले ६८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। रोबिन ले नर्मान्डले बोर्या इग्लेसियसमाथि फाउल गरेपछि पेनाल्टी दिइएको थियो।
तर, एट्लेटिकोलाई हारबाट जोगाउन एलेक्जान्डर सोर्लोथले ८१औं मिनेटमा उत्कृष्ट गोल गरे। सब्स्टिच्युटका रूपमा मैदान प्रवेश गरेको तीन मिनेटमै उनले हाफ भलीमार्फत गोल गरे।