काठमाडौं। जर्मनीका युवा स्टार जमाल मुसियाला सन् २०३० सम्म बायर्न म्युनिखमै रहने भएका छन्।
२१ वर्षीय मुसियाला सन् २०१९ मा इङ्लिस प्रिमियर क्लब चेल्सीबाट बायर्नको युवा टोलीमा प्रवेश गरेका थिए। उनको हालको सम्झौता आगामी सिजनको अन्त्यसम्म मात्र थियो। तर, बायर्नले शुक्रबार नयाँ सम्झौता गरेको हो।
बायर्नका अध्यक्ष हर्बर्ट हेनरले भने,‘दर्शक जमाल मुसियालाजस्ता खेलाडी हेर्न स्टेडियम जान्छन्। उनी एक असाधारण खेलाडी हुन्। कहिलेकाहीँ उनलाई हेर्दा गुरुत्वाकर्षणका नियमहरू लागू हुँदैनन् जस्तो लाग्छ।’
मुसियालासँगै अल्फोन्सो डेभिस र गोलकिपर म्यानुएल नोयरले पनि क्लबसँग सम्झौता नवीकरण गरेका छन्। तर, जोशुवा किम्मिच, लेरोय साने र थोमस मुलरको सम्झौता भने यो सिजनको अन्त्यसँगै समाप्त हुँदैछन्।
मुसियालाले सन् २०२३ को बुन्डेसलिगा उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले अन्तिम खेलमा कोलोनविरुद्ध निर्णायक गोल गरे। सोही दिन डर्टमुन्डले माइन्ट्जसँग बराबरी खेलेपछि बायर्न च्याम्पियन बन्न सफल भएको थियो।
यस सिजन उनले बुन्डेसलिगामा १० गोल गर्दै ४ असिस्ट गरेका छन्। बायर्नको जर्सीमा १३२ लिग खेलमा उनले ४३ गोल गरिसकेका छन् भने ४३ च्याम्पियन्स लिग खेलमा ६ गोल गरेका छन्।
मुसियालाले आफ्नो सम्झौता विस्तारबारे भने,‘बायर्न म्युनिख विश्वकै ठूलो क्लबहरूमध्ये एक हो। मैले यहाँ प्रोफेसनल फुटबलमा पहिलो पाइला चालेको थिएँ र आगामी वर्षहरूमा क्लबसँग केही ठूला उपलब्धि हासिल गर्न सकिन्छ भन्ने विश्वास छ।’
मुसियालाले जर्मनीका लागि ३८ खेल खेल्दै सात गोल गरिसकेका छन्।