काठमाडौं। युनान युथ फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा सीमान्त थापाले नेपाली टोलीको कप्तानी गर्ने भएका छन्।
मुख्य प्रशिक्षक राजेश शाहीले डिफेन्डर सीमान्तलाई कप्तानी जिम्मेवारी दिएका हुन्। मैत्रीपूर्ण खेलअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आयोजना पत्रकार सम्मेलनमा उनी कप्तानको भूमिकामा उपस्थित थिए।
उनले यसअघि श्रीलंकामा सन् २०२२ मा भएको यु–१७ साफ च्याम्पियनसिपमा नेपालको कप्तानी गरिसकेका छन्। त्यतिखेर उनले नियमित कप्तान प्रशान्त लक्षमको अनुपस्थितिमा कप्तानी जिम्मेवारी बहन गरेका थिए।
उनीसँग गत वर्ष घरेलु मैदानमै भएको यु–२० साफ च्याम्पियनसिप र चाइनिज ताइपेइमा भएको एएफसी यु–२० कप छनोट खेलिसकेको अनुभव छ।
शनिबार दिउँसो २:३० बजे आफ्नो कप्तानीमा खेल्न नेपाली टोली तयार रहेको उनले बताए। ‘राम्रो तयारी गरेका छौं। हामी युनानविरुद्ध जित्नका लागि नै खेल्ने छौं। किनभने यो खेलले नै हामीलाई राष्ट्रिय टोलीसम्म पुर्याउँछ,’ उनले भने।
नेपालले चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपाली युवा टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले गत वर्ष पनि चिनियाँ युवा टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा नेपाल ५–१ ले विजयी भएको थियो।